विद्यालयमा छात्राको पीडा: ‘महिनावारी हुँदा घर फर्किनुपर्छ’
विशाल पाण्डेय / बौनिया ,कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिका- ६ बास्कोटीमा बाल अधिकारको सम्बर्द्धन : नेपालमा बालविवाहको अन्त्य विषयक बालकचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल र सेवक नेपालको आर्थिक सहयोग र बर्दगोरीया गाउँपालिकाको आयोजनामा बालकचहरी कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
“बाल विवाहको अन्त्य ,हामी सबैको सरोकार समुन्नत समाज सुनिश्चित बाल अधिकार ” भन्ने नाराका साथ सम्पन्न भएको कचहरी कार्यक्रममा बाल विवाह हुनुका कारण, रोकथामका उपायहरुको बारेमा विद्यालयका छात्र छात्राहरुले सरोकारवाला निकायहरुलाई सवाल गरेका थिए ।
कार्यक्रममा उपस्थित छात्राहरुले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुदा महिनावारी हुँदा घरमै फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् । बर्दगोरिया गाउपालिका -१ मा रहेको बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत छात्रा सपना बुढामगरले विद्यालयमा प्याडको व्यवस्था नहुदा घर फर्किनु पर्ने बाध्यता रहेको बताइन् । कक्षा संचालन भइरहेको बेला महिनावारी भएकै कारण विचमै पढाई छोडी घर जानु पर्ने बाध्यताले आफुहरुको पढाई समेत प्रभावित बनेको हुँदा गाउपालिकाले यो सम्बन्धि के कस्तो योजना ल्याएको छ ? भन्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीलाई प्रश्न गरेकी थिइन् । प्रश्नको उत्तर दिदै स्वास्थ्य शाखा प्रमुख जोशीले नेपाल सरकारले हरेक सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गराउने निति बनाएपनी उपलब्ध नगराउदा वितरण गर्न नसकेको बताए । गाउपालिकाले सेनेटरि प्याडको लागि बजेट बिनियोजन नगर्दा विद्यालयमा प्याड उपलब्ध गराउन नसकेको बताउदै स्वास्थ्य शाखा प्रमुख जोशीले गाउपालिकामा यौन तथा प्रजनन सम्बन्धि कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर २ बौनियामा रहेको बसन्त मुरारी माध्यामिक बिद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी सुरेन्द्र बिश्वकर्माले पालिकाहरुले बिभिन्न निती नियम बनाएपनि अझै गाउँ ठाउँमा बाल विवाह न्युनिकरण हुन नसकेको बताए । यसको न्युनिकरणको लागी वडा तथा गाउँपालिकाले के कस्तो कामहरु गरीरहेको छ ? भन्दै वडा नं २ का अध्यक्ष भिखु चौधरीलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जबाफ दिदै वडा नम्बर २ का वडा अध्यक्ष भिखु चौधरीले बाल विवाह अन्त्य गर्नको लागी आफुहरु निरन्तर लागी रहेको बताएका छन् । उनले बाल विवाह न्यूनीकरणको लागि जनप्रतिनिधि मात्र नभइ बालबालिकाका अभिभावक ,शिक्षक तथा स्वयं बालबालिकाहरु पनि सचेत हुनुपर्ने जोड दिए ।
कार्यक्रममा मोहन्याल मावी बासकोटीका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पुष्ष बुढाले अहिले दिन प्रतिदिन बलात्कारका घटना बढी रहेको हुदा प्रहरी प्रशासन किन मुख दर्शन भएको बसेको छ ? भन्ने प्रश्न गरेका थिए । त्यसको जबाफ दिदै इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी सहायक निरिक्षक भरत बहादुर अधिकारीले ऐन काननुमा भएको कुरालाई टेकेर आफुहरुले काम गरीरहेको बताएका छन् । यस्ता घटना न्युनिकरण लागी ईलाका प्रहरी कार्यालय बौनियाले बिभिन्न ठाउँमा गएर सुरक्षा प्रदान गरिरहेको उनको भनाई रहेको छ ।
कार्यक्रममा वडा नम्बर १ कट्टिपुरमा रहेका बाल कल्याण आधारभुत बिद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी हेमन्त भण्डारीले बिभिन्न होटल रेस्टुरेन्टमा बालबालिकाहरु बाल श्रमिक हुन बाध्य रहेको बताएका छन । उनले बिभिन्न बाल बालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरु र गाउँसरकार मुख दर्शक भएर बस्ने गरेको भन्दै बाल शोषणमा परेकाहरुको उद्बारको लागि पालिकाले के कस्तो योजनाहरु ल्याएको छ ? भन्दै गाउँपालिकाका अध्यक्ष बलिराम डगौँरा थारुलाई प्रश्न गरेका थिए । अध्यक्ष थारुले बर्दगोरियाका होटलहरुमा बाल श्रमिकहरु नभेटेको बताएका छन् । उनले बर्दगोरियामा मात्र नभई अन्य ठाउँका होटल तथा रेस्टुरेन्ट बाट बालबालिकाहरुलाई उद्धार गरी घर परिवारको जिम्मा समेत लगाएको बताएका छन् । कुनै ठाउँमा बाल श्रमिक भएको खण्डमा तत्काल प्रशासनलाई खबर गरी उद्धार गरेको बताउदै अध्यक्ष चौधरीले पालिकामा कति त्यस्तो पाइएमा तुरुन्त प्रशासनमा खबर गर्न आग्रह समेत गरेका छन् ।
बर्दगोरीया गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष राम कृष्ण चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रङ्ग प्रसाद तिमिल्सेनाले गरेका थिए । कार्यक्रममा बर्दगोरीया गाउँपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकाहरुको सहभागीता रहेको थियो ।