जौमतीको परिवारलाई सहयोग जुट्दै, सहयोग गर्न सबैलाई अपिल - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

जौमतीको परिवारलाई सहयोग जुट्दै, सहयोग गर्न सबैलाई अपिल



विशाल पाण्डेय / सुखड,कैलाली ।

रोजगारीको सिलसिलामा गत साउन १७ गते भारत गएका कैलालीको घोडाघोडी नगरपालिका -४ सिमथरीका ४५ वर्षिय कल्लाने रोकायाको मृत्यु भएपछि उनका ३८ वर्षिय श्रीमती जौमती रोकायासंगै उनको परिवार बिचल्लीमा परेको थियो ।

गत भदौ ९ गते ‘सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै फर्किएनन्’ शिर्षकमा हिमाल पोस्ट डट कममा समाचार प्रकाशित भएको थियो । हिमाल पोस्ट तथा स्थानीय अन्य मिडियामा समाचार आएपछि अलिकति भएपनी उनलाई आर्थिक तथा खाद्यान्न सहयोग भएको थियो ।

यसै क्रममा बिहीवार सुनौलो घोडाघोडी समाज कर्नाटक ,बैङलोर तथा इकोर्स नेपालका इन्द्र कंडेलले पनि सहयोग गरेका छन् । इकोर्स नेपालले करिब ५ हजार बराबरको कम्बल र लगाउने न्यानो कपडा उपलब्ध गराएका थिए भने सुनौलो घोडाघोडी समाज कर्नाटक ,बैङलोरका कोषाध्यक्ष जीवन रिजालले घरमै गएर ८ हजार नगद रकम हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर बुढाको समेत उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण गर्दै कोषाध्यक्ष रिजालले कैलालीको घोडाघोडी नगरपालिकामा बस्ने नेपालीहरु मिलेर बैङ्लोरमा समूह गठन गरि सबै सदस्यबाट थोरै भएपनी रकम उठाएर उपलब्ध गराएको बताए । उनले यस अघि पनि घोडाघोडी नगरपालिका -१ का दुर्गा प्रसाद रिजाल बचाउ अभियान अन्तरगत १ लाख भन्दा बढी रकम सहयोग गरेको जानकारी दिदै यस परिवारलाई अझै थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आर्थिक स्थिति कमजोर रहेको जौमतीको ५ जना छोराछोरी छन् । उनको दुई छोरी र तीन छोरा छन् । छोरी क्रमश: १६ र ४ बर्षका छन् भने छोराहरु क्रमशः १४,११ बर्ष र ६ महिनाको छन् । परिवारमा आर्थिक अवस्था कमजोर भएपछि १६ वर्षिया छोरी कल्पनाले सानै उमेरमा बिहे गरेर गइन ।

सुरुमा खुट्टामा घाउ भएर सुनिएको जौमतिको आर्थिक अवस्थाका कारण औषधि उपचारसमेत नगर्दा अहिले पुरै शरीर नै सुन्निएर हलचल नै गर्न नसक्ने अवस्थामा छिन् ।

आमालाई यस्तो भएपछि दिदी पनि बिहे गरेर जानू भयो । १४ वर्षिय लोकराजले भने , ‘अहिले आमा तथा भाइ बहिनीहरुलाई खाना पकाएर खुवाउने र सबै काम सकेर विद्यालय जाने गरेको छु ।’ लोकराजले आफ्नो आमापनी विरामिले थला परेको र घरको आर्थिक स्थिति पनि एकदमै कमजोर रहेको हुँदा सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

यता घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर बुढाले आफुले थाहा पाउने बित्तिकै तत्काल वडा कमिटिको बैठक बसाएर राहतको उपलब्ध गराएको बताए ।

अध्यक्ष बुढाले जौमति रोकायाको नागरीकता नहुदा समस्या भएपछि आफुले नागरिकता बनाइदिएको बताए । उनले बालबालिकाको संरक्षणका लागि संघसंस्थाहरुले चासो देखाएका कारण उनिहरुसंग कुरा भइरहेको जानकारी दिए ।

जौमतीका परिवारलाई सानो भएपनी सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गरौं ।

घोडाघोडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर बुढा सम्पर्क नम्बर ९८१८६१८१७२