मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट च्याम्पियनसिप दिल्लीमा हुदै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट च्याम्पियनसिप दिल्लीमा हुदै



भारतको राजधानी दिल्लीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेटको आयोजनाको तयारी स्वरूप आउँदो बिहीबारदेखि क्रिकेट च्याम्पियनसिपको आयोजना हुँदैछ । पढाई र रोजगारीको सिलसिलामा भारतमा रहेका खेलबाट वञ्चित रहेका खेलाडीहरूलाई अवसर प्रदान गरेर उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले यही १९ ,२० र २१ डिसेम्बरमा तीन दिने क्रिकेट च्याम्पियनसिपको आयोजना हुने भएको छ । मदन भण्डारी फाउन्डेसन अन्तरगत सञ्चालित मदन भण्डारी स्पोर्ट्स एकेडेमी भारतले आफ्नो ११ औँ स्थापना दिवसको अवसरमा पहिलो मदन भण्डारी क्रिकेट च्याम्पियनसिप २०१९ आयोजना गर्दैछ । भारतको राजधानी दिल्ली स्थित लक्ष्मीनगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीले भारतमा रहेका खेलाडीहरूको मनोबल बढाउँदै उनीहरूलाई खेल क्षेत्रमा झनै अगाडी बढ्न प्रोत्साहन प्रदान गर्नुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन क्रिकेट टूर्नामेन्टको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी भारतले इण्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पूर्व तयारी स्वरूप यही डिसेम्बर १९ २० र २१ मा तीन दिने क्रिकेट टूर्नामेन्टको आयोजना गर्न लागेको एकेडेमीका संयोजक राज ढकालले बताउनु भयो । च्याम्पियनसिपमा दिल्ली एनसीआरका विभिन्न ८ टिमको सहभागिता रहने बताउँदै ढकालले पहिलो हुने टोलीले२५ हजार नगद, ट्रफी एवं प्रमाणपत्र दोस्रो हुने टोलीले १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताउनु भयो । त्यसै गरी म्यान अफ द म्याचले ११ सय, ट्रफी र प्रमाणपत्र र म्यान अफ द सिरिजलाई २ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

त्यसैगरि पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अर्का संयोजक सुभाष भट्टले खेलको नियमहरूका बारेमा जानकारी दिँदै क्रिकेट तीन दिनमा सक्नुपर्ने भएकाले १५ ओभरको नकआउट सिस्टम हुने र फाइनल खेल २० ओभरको हुने बताउनुभयो ।

समारोहमा बोल्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अन्तर्राष्ट्रिय इन्चार्ज गोपाल थापाले च्याम्पियनसिप प्रवासमा लुकेका खेल प्रतिभा र खेलबाट वञ्चित खेलाडीका लागि ठुलो अवसर भएको र यो च्याम्पियन्शीपसँगै खेलाडीहरूलाई अगाडी बढ्ने कयौँ बाटो भेटिने बताउनुभयो । रोजगारीका लागि युवाहरूको विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाका कारण स्वदेशका साथ-साथै विदेशमा पनि नेपाली खेलाडीहरू रहने भएकाले यस प्रकारको च्याम्पियनसिपको आयोजना प्रवासमा हुँदा नेपाली खेलाडीको उत्पादन बढ्ने आशा व्यक्त गर्नुभयो । उहाँले डीपीएलको पछिल्लो संस्करणको विजेता टीममका एक जना ओनर युवराज शर्माकै निगरानीमा च्याम्पियनसिप भइरहेकाले यसबाट उत्कृष्ट खेलाडीले राम्रो अवसर पनि पाउने बताउनु भयो ।

१९ डिसेम्बरका दिन भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले च्याम्पियनशीपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप अवधिमा एक जना राष्ट्रिय खेलाडीको पनि उपस्थिति रहने र समापन समारोहमा भारतका खेल क्षेत्रका व्यक्ति एवं जन प्रतिनिधिको उपस्थिति रहने बताइएको छ । पत्रकार सम्मेलनमा च्याम्पियनसिपमा सहभागिता जनाउने क्रिकेट टोलीका कप्तानहरूलाई भ्रमण वर्ष 2020 लाई प्रवर्द्धन गरिएको टि-शर्ट पनि वितरण गरिएको थियो