प्र अ लाई कालोमोसो दलिएको प्रती आपत्ति - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्र अ लाई कालोमोसो दलिएको प्रती आपत्ति



विशाल पाण्डेय / सुखड,कैलाली ।
विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवद्धारा आइतबार दिउँसो राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलिएको प्रती विद्यालय व्यवस्थापन समिती तथा शिक्षक अभिभावक समितीले घोर आपत्ति जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गजेन्द्र अर्याल तथा शिक्षक अभिभावक समितीका अध्यक्ष लक्ष्मी देवि सिंहद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यस्तो कार्य हुनु घोर आपत्ति जनाउदै यस्तो कार्य गर्नेलाई कारबाहीको माग समेत गरेका छन् ।

विज्ञप्तिमा, आइतबार दिउँसो ३:२० बजेको समयमा विद्यालय संचालन भइरहेको अवस्थामा ४ जनाको अज्ञात समुहद्बारा यस विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई काम छ भनी वैठकबाट बाहिर बोलाइ कुनैपनी अभियोग बारे जानकारी नगराई एक्कासि खल्तीबाट कालो तरल पदार्थ निकाली खन्याएको उल्लेख गरिएको छ । साथै विद्यालय परिसरले विज्ञप्तिमा विना प्रमाणित प्रधानाध्यापकमाथी यस्तो कार्य हुनु घोर निन्दनीय रहेको उल्लेख गर्दै यस्तो कार्य गर्नेलाई कानुनी कारबाहीको माग समेत गरिएको छ ।

यता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीले विद्यालयमा कुनैपनी आर्थिक अनियमितता नगरेको बताएका छन् । उनले प्रत्येक बर्ष सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिरहेको बताउदै आर्थिक बर्ष २०७५/०७६ को मात्र प्रतिवेदन आउन बाकी रहेको र त्यस्कोलागि शिक्षक अभिभावक समितीका अध्यक्ष लक्ष्मी देवि सिंहको अध्यक्षतामा समूह गठन समेत गरिसकेको जानकारी दिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दल्ने समुहलाइ सिसिटिभी फुटेजको आधारमा पहिचान गरि खोजी कार्य जारी रहेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक चौधरीलाई विद्यालयमा आर्थिक अनियमिता गरेको ,प्रशासननिक हिसाबले विद्यालय पनि चलाउन नसक्ने र समयमै शिक्षकहरुलाई तलब समेत दिन नसकेको भन्दै आइतबार नेपाल कम्युनिष्ट पार्टी विप्लवद्धारा
कालोमोसो दलिएको विप्लव समुहका कैलाली जिल्ला सचीवले हिमाल पोस्टलाई जानकारी दिएका थिए ।