प्रचण्डको प्रश्न: विचरा ! ७७ वर्षे बूढालाई देवघाट लैजाने बेला लड्न पठाउने ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रचण्डको प्रश्न: विचरा ! ७७ वर्षे बूढालाई देवघाट लैजाने बेला लड्न पठाउने ?



पोखरा- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारलक्षित विवादास्पद अभिव्यक्ति दिएका छन् ।

बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारको उमेरप्रति कटाक्ष गरेका हुन् ।

वृद्ध उमेरका व्यक्तिलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार बनाएको भन्दै उनले व्यंग्य गरेका हुन् ।

अध्यक्ष दाहालले कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटमा जाने उमेरमा भोट माग्न हिँडेको’ भनी टिप्पणी गरे । पौडेल यही मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार छन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिले–काहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बूढालाई अघि सारेका छन्’–उनले भने–‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन् ।’

दाहालले थपे–‘त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

कांग्रेस देखेर टिठ लाग्यो

उनले नेपाली कांग्रेस देखेर आफूलाई टिठ लागेको टिप्पणी गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल–भारत सीमा विवादकाबारेमा दिएको अभिव्यक्ति झुटो भएको उनले बताए ।

गएको शनिबार देउवाले पोखरामै प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको आरोप लगाएका थिए ।

सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएर उट्पट्याङ् गरी जनतालाई उल्लु बनाउन खोजेको देख्दा आफूलाई टिठ लागेको उनको भनाइ थियो ।