यातायात व्यवस्था कार्यालय: जहाँ फेल भएपनि पाइन्छ लाइसेन्स - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

यातायात व्यवस्था कार्यालय: जहाँ फेल भएपनि पाइन्छ लाइसेन्स



काठमाडौं- ट्रायलमा फेल भएका परीक्षार्थीलाई सवारीचालक अनुमति जारी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा काम गरेका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उपसचिवदेखि खरिदारसम्मलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले २०६९ साल बैशाख, जेठ र असारमा गरेको ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराएको भेटियो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने, ‘खोज्दै जादा १२ सय ८४ जना यसरी पास भएको खुल्यो।’ फेल भएकाहरुलाई पास बनाउने काममा संलग्नहरुलाई मुद्दा चलाएको उनले बताए।

अख्तियारले त्यसअघि नयाँ लाइसेन्स जारी गर्दा कार्यालयमा अभिलेख समेत नष्ट गरेको दाबी गरेको छ। लाइसेन्स दिँदा लिनुपर्ने राजश्वसमेत नलिएको भन्दै अख्तियारले त्यसलाई बिगो कायम गरेको छ। तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले परीक्षामै सहभागी नभएकालाई पास गराएको, फेल भएकालाई ३ महिना नपुग्दै ट्रायलमा सहभागी लगाएको आरोप छ।

परीक्षा समितिले ‘फेल’ भनी जनाइएका परीक्षार्थीलाई पछि उनले ‘अन्यथा हुन गएको’ भनी पास गर्ने निर्णय गरेका थिए। उनीमाथि ८ लाख ५९ हजार रुपैयाँ बिगो माग दाबी छ। त्यही आरोपमा इञ्जिनियर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र र नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, इश्वर रेग्मी, शम्भु थपलिया, धर्म ढुंगाना र बाबुलाल रेग्मीमाथि समेत मुद्दा चलाएको हो। अरु २९ जनामाथि पनि यसैगरी मुद्दा चलेको आजको कान्तिपुरमा खबर छ ।