समयमा काम नगर्ने ठेकेदारहरूले प्रधानमन्त्री निवासमा धर्ना दिने - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

समयमा काम नगर्ने ठेकेदारहरूले प्रधानमन्त्री निवासमा धर्ना दिने



काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार पत्रकार सममेलन गर्दै महासंघले सोमबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्ने, आफ्नो कार्यालय र सबै निर्माण उपकरणमा कालो झण्डा राख्ने र कालोपट्टी बाँधेर काम गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको हो।

महासंघले म्याद थप, बैंक क्रेडिट लाइनलगायतका २५ बुँदे माग राखी सरकारलाई दवाव दिन आन्दोलन गर्नुपरेको जनाएको छ। महासंघका अध्यक्ष रबी सिंहले सरकारले २ खर्ब रुपैयाँ बराबरको २ सय भन्दा बढी आयोजनाहरुको म्याद थप नगरेको आरोपसमेत लगाए। अध्यक्ष सिंहले टेण्डर प्रकृयामा भाग लिंदा बैंक क्रेडिट लाइन राख्नुपर्ने व्यवस्था गर्दा बैंकलाई बढी शुल्क तिर्नु परेको भन्दै त्यसलाई हटाउनसमेत माग गरे। व्यवसायीहरुका माग सम्बोधन नभए कुनैपनि निर्माण प्रकृयामा भाग लिन नसक्ने अध्यक्ष सिंहले बताए।

व्यवसायीहरुले सरकारको टेण्डर प्रकृयामा सहभागि हुन नसक्ने गरी नियमावली संशोधन भएकाले त्यसलाई सच्याउन माग गरेका हुन्। महासंघले दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठुला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ।