दुबिधामा कास्कीको भोट: सहानुभूति भर्सेज सहानुभूति - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

दुबिधामा कास्कीको भोट: सहानुभूति भर्सेज सहानुभूति



काठमाडौं । उपनिर्वाचनले देशभरको दृष्टि तानेको पोखरामा नेपाली काँग्रेसका शीर्ष नेताहरु शुक्रबार भेला हुँदैछन । काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई भोट मग्न र माहोल बनाउन उनीहरू पोखरामा भेला हुन लागेका हुन् ।

कास्की २ मा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका ७५ वर्षीय खेमराज पौडेल उम्मेदवार छन् भने नेकपाबाट स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई मैदानमा छन् । अहिले पोखराको माहोल चुनावमय भएको छ । यसबीच सबै दलले आफ्नै उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् ।

रोचक त के छ भने, सधैभर युवाको हातमा नेतृत्व आउनुपर्ने र अबको पार्टीको नेतृत्वमा पनि युवा हुनुपर्ने भन्दै आएका कांग्रेसका नेताहरू ७५ वर्षीय उम्मेदवारलाई भोट माग्ने छन् । त्यागी तथा सक्षम उम्मेदवार भनेर प्रचार गरिएका खेमराजले उम्मेद्वारी दर्ता गर्दाकै दिन आफूलाई डोनाल्ड ट्रम्पसँग दाँजेका थिए ।

कांग्रेसलाई पोखरामा जित्न ठुलो चुनौती देखिएको बेला काङ्ग्रेस परित्याग गरेर साझा पार्टीमा गएकी रजनी पनि उम्मेदवार छिन । विगत चुनावको आंकडा हेर्दापनि नेकपाको भन्दा कम भोटर छन् काङ्ग्रेसका ।

७५ वर्षीय उम्मेदवारलाई जिताएर केहि सन्तुष्टि मिलेपनि राजनीतिमा आउने परिवर्तन भने सम्भव छैन । अर्कातिर उनि त्यागी भएको, नेकपाको छवी राम्रो नभएकोले केहि भोट थपिने आशा भने छ ।

आफ्नै उम्मेदवार भएकोले बाध्यताले भोट माग्नेकाम गरेपनि काङ्ग्रेसकै धेरै नेता यसमा सन्तुष्ट भने छैनन् । हुनत राजनीतिमा केहिपनि असम्भव हुँदैन एउटा खेमराजले कास्कीको रुप बदल्न पनि सक्छन ।

तर अब देशकै राजनीतिको रुप र रफ्तार परिवर्तनकोलागि फरक दक्षताका र युवा नेतृत्व र उम्मेदवार ल्याउने समयमा फेरी पछाडी नै फर्केको त होइन भन्ने अवस्था छ । त्यागी र अध्भययनशील भएकैले खेमराज फिट हुन सक्लान, परिवर्तनको बाहक बन्न पनि सक्लान तर, क्षमता र दक्षता भएको भए यो उमेरसम्म पार्टीको राजनीतिमै पनि पछाडी किन परे भन्ने प्रश्न उनैका लागि ।

उता विद्या भट्टराईको पनि पतिका अधुरा सपना पुरा गर्ने भन्दै प्रचार गरिएको छ । उनि सक्षम भएको हौवा पिटिएको छ । तर, रविन्द्र अधिकारी भन्दा सक्षम भएको भए पतिसंगै सल्लाह गरेर विद्याले राजनीति छाड्नुपने थिएन ।

यसरी हेर्दा कास्कीका जनताको भोट एकातिर उमेरले नेटो काटेको भनेर खेमराजप्रति सहानुभूति देखिएको छ भने र अर्कोतिर पतिको कारण विद्याप्रति सहानुभूति देखिएको छ ।