टुटल र पठाओलाई प्रतिबन्ध लगाउने तयारी
काठमाडौं । सरकारले टुटल र पठाओलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । यातायात व्यस्था विभागले सुचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएपछि यस्तो अवस्था आउने देखिएको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
खासगरी टुटल र पठाओको बाइक राइडिंगलाई यो सुचनाले प्रभावित पार्ने देखिन्छ । हाल भाडा लिएर यात्रु बोक्ने सेवा टुटल, पठाओलगायतका कम्पनीले गरेका छन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थालिने स्पष्ट पारेको छ ।
केहि समय पहिले पनि विभागले कारवाही थालेको थियो तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारवाही रोक्न निर्देशन दिएका थिए । बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ ।