बालुवाटारमा भैरहेको तयारी के हो ? - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

बालुवाटारमा भैरहेको तयारी के हो ?



काठमाडौं- मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते दुईपटक डायलसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् ।

बालुवाटारमा बैठक बाक्लिएका छन्, निर्णयहरू धमाधम हुँदैछन् । यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

प्रधानमन्त्री ओलीले छलफल र भेटघाटको शैली पनि परिवर्तन गरेका छन् । स्रोतका अनुसार उनले असन्तुष्ट पक्षको समेत कुरा सुन्दै गुनासो सम्बोधनमा प्रयास गर्ने वचन दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार झन्डै चार घण्टा छलफल गरेर करिब ३ महिनादेखिको संवादहीनता तोडेका ओलीले बिहीबार साँझ फेरि उनीसँग लामो कुराकानी गरेका छन्।

करिब डेढ घण्टा भएको छलफल मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी नपाएका पार्टी नेताहरूको व्यवस्थापनमा केन्द्रित रहेको स्रोतले बताएको छ ।

नेताहरूको जिम्मेवारी बाँडफाँट लगभग सकिँदा नेपालनिकट केही स्थायी र केन्द्रीय समिति सदस्यहरू भूमिकाविहीन रहेकाले ती नेताबारे पनि उनीहरूबीच कुराकानी भएको नेपालनिकट स्रोतले जनाएको छ।

नेता नेपालसँग भेट्नुअघि बिहीबार दिउँसो प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग करिब ४ घण्टा कुराकानी गरेका थिए । अध्यक्षद्वयबीच पार्टी एकीकरणका बाँकी कामदेखि मन्त्रिपरिषद् गठनसम्मकाविषयमा छलफल भएको स्रोतले जनाएको छ।

‘उहाँहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा एकमुष्ट छलफल भइरहेको छ,’ नेकपाका एक सचिवालय सदस्यले भने।

बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले दाहाल र नेपालपछि आफूनिकट नेताहरूसँग सरकार र पार्टी सञ्चालनलगायत विषयमा कुराकानी गरेका हुन् ।

नेकपाका ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेका छन् । तीन दिनयता ओली र दाहालबीच यिनै विषयमा घनिभूत छलफल भइरहेको उनको भनाइ छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले अहिलेको परिस्थितिका कारण पनि दुई अध्यक्षको छलफल बाक्लिएको बताए ।

‘अहिले अवस्था नै त्यस्तो छ, धेरै काम गर्नु परिरहेको छ, त्यसैले उहाँ (प्रधानमन्त्री) को सक्रियता बढेको जस्तो देखिएको हो,’ उनले कान्तिपुरसँग भने, ‘उहाँ सधैं सक्रिय हुनुहुन्छ ’

प्रधानमन्त्री ओलीसँग बिहीबार दिउँसो बालुवाटारमा केहीबेर छलफल गरेका नेकपा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री भएका हिसाबले उनको सक्रियता धेरै हुनु स्वाभाविक रहेको बताए । उनले प्रधानमन्त्रीसँग आफ्नो सामान्य भेटघाट मात्रै भएको जानकारी दिए ।

बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन् । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन्।