महराद्वारा अनुसन्धानमा असहयोग- डीएनए टेस्ट गर्न र मोबाइल दिन मानेनन्
काठमाडौं- संसद सचिवालयकी महिला कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराबिरुद्ध आरोप पत्र दायर गरिएको छ ।
आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको उल्लेख गरिएको छ ।
‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्ती करणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।
दुई नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ ।
आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ ।
प्रहरी समक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको बताएका छन् । यद्यपी आरोपितको हकमा मोबाइल सेट जफत गर्न सकिने कानुनी व्यवस्था छ ।
प्रहरीको बयानमा घटनास्थल नजिक पुगेको स्वीकार गरेपनि कोठामै भने नगएको बताएका छन् । घटनास्थलबाट प्रहरीले बरामद गरेको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिलेको छ ।
चस्माको पावर आरोपपत्रमा प्लस २.७५ भएको डी विस्फोकल रहेको उल्लेख छ ।
प्रहरीले मरहाको डीएनए परीक्षणको लागि अस्पताललाई पत्र पठाएपनि अस्पतालले स्याम्पल नपठाएको आरोपपत्रमा उल्लवेख गरिएको छ । बिहीबार आरोपपत्र दर्तापछि अरोपितको बयान भोलि (शुक्रबार) मात्रै हुनेछ ।
प्रहरी कस्टडीमा अनुसन्धानका क्रममा रहेका महराले फँसाइएको र आफू निर्दोष रहेको बताउँदा अनुसन्धानमा सहयोग गरेका छैनन् । प्रहरीले उनको डिएनएसहित अन्य विविध उपकरणको जाँच गर्न खोजेका छन् । तर महराले रगत दिएका छैनन् भने मोबाइलसहितका अनुसन्धानमा सहयोग गर्ने अन्य उपकरण दिन नमानेको बताइएको छ ।
जसका कारण प्रहरीलाई उक्त प्रकरणमा अनुसन्धानमा प्रमाण जुटाउनका निम्ति निक्कै कठिन भइरहेको छ ।
अपराधस्थल भनिएको सुविधानगरस्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवालगायतका सामग्री महराको भए नभएको पुष्टि गर्नका लागि डिएनए जाँच गर्न खोजिएको थियो ।
जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । उनले अदालतको आदेशको पनि अबहेलना गरेका छन् ।
सरकारी वकिलको कार्यालयमा प्रहरीले रायसहित बुझाएको प्रतिवेदनमा रगत दिन नमानेको व्यहोरा प्रहरीले उल्लेख गरेको छ । अन्य प्रमाणसहित उसले ७ बर्ष कैद र जरिवानाको राय समेत दिएको छ ।
१३ असोजमा शाहीले आरोप लगाउँदै विभिन्न मिडियामार्फत महराले आफूलाई यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । प्रहरीले १९ असोजमा महरालाई पक्राउ गरेको थियो ।