घोडाघोडी कपको उपाधी आयोजकको पोल्टामा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कपको उपाधी आयोजकको पोल्टामा



विशाल पाण्डेय / सुखड ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६ फुटबल प्रतियोगिताको उपाधी आयोजक घोडाघोडी क्लबले हात पारेको छ । शुक्रबार सुखडमा भएको खेलमैदानमा चिरप्रतिद्वन्द्वी सहारा क्लब पहलमानपुरलाई एक का विरुद्ध पाँच गोलले स्तब्ध बनाउँदै आयोजक घोडाघोडीले उपाधि चुमेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा जितको लागि घोडाघोडी क्लबका विदेशी खेलाडी फुफाना फोडेले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको ३० र दोस्रो हाफको २४ र ४० औं मिनेटमा गोल गर्दै सहारा विरुद्ध ह्याट्रिक गरेका थिए भने पहिलो हाफको ३९ औं मिनेटमा विनोद केसि र दोस्रो हाफको ३५ औं मिनेटमा चेतन कठायतले गोल गर्दै घोडाघोडी क्लबले पाँच गोलको नतिजा ल्याएको थियोे । यस्तै सहारा क्लबको तर्फबाट खेलको दोस्रो हाफको २९ औं मिनेटमा सुरज आलेमगरले सान्त्वना गोल गरेका थिए । फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोडाघोडी क्लबका फुफाना घोषित भए ।

दाङ र महेन्द्रनगरबाट गरि १२ वटा टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै आयोजक घोडाघोडी क्लबले दुई लाख एक सय एक रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेको छ भने उप–विजेता सहारा क्लब पहलमानपुरले एक लाख एक सय एक रुपैयाँ संगै ट्रफी ,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आयोजक घोडाघोडी क्लबले स्टार सिटि धनगढीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने सहारा क्लब पहलमानपुरले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गराएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी , उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकर्ता र उत्कृष्ट फरवाडरलाई समेत नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक घोडाघोडी क्लब का चन्द्र बुढामगर घोषित भएका छन् । उनले नगद १५ हजार रुपैयाँ सहित ट्रफी पाएका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक आयोजक घोडाघोडी क्लबका जीवन भट्टराई , गोलकर्ता स्टार सिटि धनगढीका विक्रम सिंह , उदयमान खेलाडी आयोजक घोडाघोडी क्लबका पारस चन्द , उत्कृष्ट फरवार्ड फुफाना फोडेलाई समान पाँच / पाँच हजार नगद र ट्रफी पाएका थिए ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।