राजपा र समाजवादीबीच पार्टी एकता नयाँ चरणमा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राजपा र समाजवादीबीच पार्टी एकता नयाँ चरणमा



काठमाडौं।  सत्तासाझेदार समाजवादी पार्टी र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)बीच मंसिर पहिलो साताभित्र एकीकरण हुने भएको छ । दुवै दलका शीर्ष नेताबीच अहिले विभिन्न प्रस्तावमा गोप्य छलफल चलिरहेको छ । एकीकृत पार्टीको नेतृत्व, सिद्धान्त, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित  रहेको छ ।

एकीकरणपछि संगठनको नेतृत्व कस्तो हुने र अन्य शीर्ष नेतालाई जिम्मेवारी के कस्तो हुने भन्नेबारे छलफल भइरहेको एक नेताले बताए । एकताका लागि छलफल सहमतिनजिक पुगेको ती नेताको दाबी छ । राजपा नेपाल अध्यक्षमण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकताको छलफल सहमतिनजिक पुगेको बताए । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजपा वार्ता टोलीका संयोजकसमेत रहेका नेता महतोले छलफल अन्तिम चरणमा पुगेको बताएका हुन् ।

एकीकृत पार्टीको नाम, झन्डा, छाप, भ्रातृ संगठनको स्वरूपसहित नीति तथा नेतृत्वलगायतका विषयमा छलफल सहमतिनजिक पुगेको उनको भनाइ थियो । विगत केही समयदेखि दुवै पार्टीबीच एकताका लागि गोप्य छलफल चलिरहेको छ । छलफलमा मुख्यतः एकीकृत पार्टीको नेतृत्वकै विषयमा नेताहरू बढी केन्द्रित हुने गरेका छन् । वैकल्पिक शक्ति निर्माण, संविधान संशोधनसहित आगामी दिनमा मूल राजनीतिको नेतृत्व गर्ने गरी अगाडि बढन खोजिएको नेता बताउँछन् ।

दुई पार्टीबीच एकताका लागि छलफल सकारात्मक रहेको बताइए पनि राजपाका नेता महतोले एकीकृत पार्टीमा सर्वोच्च नेता महन्थ ठाकुर हुनुपर्ने र समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त अगाडि सारेको बताए । राजपामा महतोसहित महेन्द्र राय यादव र शरतसिंह भण्डारी एकताको पक्षमा छन् भने झा र राजकिशोर यादव अहिलेकै अवस्थामा एकीकरण नगरिने पक्षमा उभिएका छन् । ठाकुर आफूले एकीकृत पार्टीको नेतृत्वसहित सर्वोच्च नेता भए पार्टी एकीकरण गरिने नभए नगरिने पक्षमा उभिएका छन् ।

यसैबीच समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले मंसिरको पहिलो साताभित्र राजपा नेपालसँग पार्टी एकीकरण हुने दाबी गरेकी छन् । प्रदेश २ सरकारद्वारा जनकपुरस्थित मधेस भवनमा दीपावली र छठको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले एकताको कुरा धेरै अघि बढिसकेको र मंसिर पहिलो सातासम्म दुई पार्टीबीच एकीकरण हुने बताइन् ।