काङ्ग्रेसको हविगत: न भुईंमा, न भाँडोमा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

काङ्ग्रेसको हविगत: न भुईंमा, न भाँडोमा



काठमाडौं । अधिकांश समय आन्तरिक विवादमा अल्झिरहने नेपाली कांग्रेसभित्र फेरि विवाद चुलिएको छ । संघीय निर्वाचनमा हार व्यहोरेपछि थला परेको कांग्रेस अझै माथि उठ्न सकेको छैन । कांग्रेसका सम्पू्र्ण भातृसंस्थाहरु निस्क्रियजस्तै छन् । अलि सक्रियजस्तो देखिने नेपाल तरुण दल पनि विवादरहित छैन । चार पदाधिकारीभन्दा बढाउन नसकिएको तरुण दलको केन्द्रीय कार्यसमितिमा अध्यक्ष जितजङ् बस्‍नेत र महासचिव भुपेन्द्र जंग शाहीबीचको किचलोले जिल्लाका तरुण दलका समस्यहरुमा समेत नैराश्यता उत्पन्‍न गराएको छ ।

नेविसंघ नै छैन अहिले । महिला संघ र किसान संघको पनि हविगत उस्तै छ । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा प्रतिपक्षी सशक्त रुपमा उभिनुपर्नेमा प्रतिपक्षीमा पनि बलियो हुन नसक्दा जनता थप निराश भएका छन् ।

फेरि उपनिर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विवाद उत्‍पन्‍न भएको छ । बिहीबार बस्‍ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १४ गतेसम्मका लागि स्थगित गरिएको छ । उपनिर्वाचनका विषयमा छलफल गर्ने कार्यसूची रहेको बिहीबारको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित गरिएको हो ।

विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए। पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन् ।

‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’ बुधबारको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनमा उम्मेदवार चयन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। तर देउवाले पदाधिकारी बैठकमा भएको सहमतिबाहिर गएर विभागको संख्या बढाउने प्रस्ताव राखेपछि संस्थापनइतर नेताहरू चिढिएका हुन्।

सभापति देउवाले पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले थपिने विभागको संख्या उल्लेख भने नगरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

कांग्रेसको विधानमा २८ वटा विभागको व्यवस्था छ। विभाग गठनका लागि नेताहरूबीच पटक पटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन। विभागको संख्या बढाउने सभापति देउवाको प्रस्तावप्रति संस्थापन पक्षकै नेताहरूले समेत आश्चर्य व्यक्त गरेका छन्। ‘यो प्रस्ताव किन आयो हामीले पनि बुझ्न सकेनौं,’ सभापति देउवानिकट एक नेताले भने, ‘भएका विभाग गठन गर्न नसकिरहेका बेला थप विभाग किन चाहियो ? यसको कुनै औचित्य नै देखिएन।’

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न एक उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठक बस्न नसकेपछि उम्मेदवार छनोट समिति नै गठन हुन सकेन। ९ सदस्यीय समितिमा पार्टी केन्द्रीय पदाधिकारीसँगै वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौला सदस्य रहने समझदारी कांग्रेस पदाधिकारी बैठकमा भएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने उपनिर्वाचनका लागि सिफारिस उम्मेदवारको संख्या धेरै भएकाले शीर्ष तहबाट छलफल गरेर टुंग्याउने गरी केन्द्रीय समिति बैठक स्थगित भएको जानकारी दिए। ‘हामीले तीन जनाको नाम सिफारिस गर्न भनेका थियौं तर क्षेत्रीय समितिबाट धेरैको नाम सिफारिस भएकाले यसमा शीर्ष तहमा छलफल गर्ने गरी बैठक स्थगित भएको हो,’ उनले भने, ‘विवाद भएको होइन।’

कांग्रेसको विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। तर प्रतिनिधिसभातर्फ कास्की क्षेत्र २ बाट १६ जना आकांक्षी उम्मेदवार नाम केन्द्रमा पठाएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ जना र दाङबाट ११ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको प्रवक्ता शर्माले बताए। कांग्रेस बैठक कात्तिक १४ गते बस्ने भएको छ।