क्रीकेटको माध्यमबाट सुदुरपश्चिम प्रदेशलाई चिनाउनु छ : मन्त्री सुवेदी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

क्रीकेटको माध्यमबाट सुदुरपश्चिम प्रदेशलाई चिनाउनु छ : मन्त्री सुवेदी



विशाल पाण्डेय / घोडाघोडी,कैलाली ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदीले सबै मिलि सुदुर पश्चिम् प्रदेशलाई क्रीकेटको माध्यमबाट विश्वसामु चिनाउनु पर्ने बताएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिका -४ मा सर्वाधीक धनराशीको ‘बाल बाटिका क्रिकेट लिग’ को आइतबार उद्घाटन गर्दै मन्त्री सुवेदीले खेलकुदलाई पहिलो प्राथमिकतामा राखी क्रीकेटको माध्यमबाट सुदुरपश्चिम प्रदेशलाई विश्वसामु चिनाउन सबै लाग्नुपर्ने बताए हुन् ।

मन्त्री सुवेदीले प्रदेश सरकारले खेलकुदको हरेक क्षेत्रमा सहयोग गर्दै खेलाडी उत्पादन तथा खेल्नबाट बन्चित भएका खेलाडीहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याएको समेत बताएका छन् । बर्तमान अवस्थामा युवाहरु विकृति विसंगति र कुलतमा फसेका बेलामा स्वास्थ,सभ्य,अनुशासित र राष्ट्र पहिचानका एउटा निजि संस्थाले क्रीकेट प्रतियोगिताको आयोजना गरेको हुँदा आयोजकलाई धन्यवाद दिँदै मन्त्री सुवेदीले खेलकुदलाई प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको महत्वपूर्ण अंगको रुपमा लिएको बताए ।

गत बर्ष पनि अन्य प्रदेशले नगरेको अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको आयोजना गरेको र यो बर्ष पनि व्यवस्थित तरिकाले मुख्य मन्त्री कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने मन्त्री सुवेदीले बताए । फाप्ला क्रीकेट मैदानलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले गत बर्ष रकम विनियोजन गरेपनि प्राविधिक कारणले प्रदेश सरकारको मातहतमा हुन नसक्दा काम अगाडि बढ्न नसकेको बताउदै मन्त्री सुवेदीले अब संघको भुमी सुधार मन्त्रालयमा फाइल पुगेको हुँदा प्रदेश सरकारलाई हस्तान्तरण भएलगत्तै अन्तर्राष्ट्रिय स्तरको क्रीकेट मैदान फाप्लामा निर्माण गर्न प्रदेश सरकार अगाडि बढ्ने बताए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद नन्द बहादुर साउदले हाल प्रतियोगिता संचालन भईरहेको खेल मैदानलाई रंगशालाको रुपमा बिकास गर्नकोलागि सबै जना लागि परेको बताए । सांसद साउदले आफ्नो कार्यकालमा रंगशाला निमाण भई आवश्यक खेलकुदका सामाग्री र संरचनाहरु समेत बनि सक्ने दाबी गरे । उद्घाटन कार्यक्रममा सुदुरपश्चिमको क्रिकेट बिकासमा अतुलनिय योगदान दिएको भन्दै सुदुरपश्चिमाञ्चल क्रीकेट एकेडेमी संचालक सुवास शाहीलाई सम्मान समेत गरीएको थियो । सम्मान ग्रहण गर्दै शाहीले अनगिन्ती कठिनाईका बिच पनि सपना देख्नु सबैभन्दा ठुलो कुरा भएको बताए । उनले धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानमा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु संचालन गर्ने आफ्नो सपना रहेको बताए ।

बर्दगोरिया गाउपालिका -४ मुडा बजारको खेल मैदानमा आईतबारबाट सुुरु भएको प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका १६ वटा बिद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले १ लाख १ हजार र उप बिजेताले ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ९ गते सम्म चल्ने छ ।