विदेशको दसैँ - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

विदेशको दसैँ



-रश्मिला कवाङ ‘रश्मि’

शरद ऋतुको आगमनसँगै
चिसो सिरेटो बहँदै
मनै कठ्याङ्ग्रिने बिहानी
चारैतिर बेजोड हावाहुरी
हरेक हरिया रुखका पातहरू हल्लाउँदै
अनि भुईँभरि पहेँला पातले बाटो सिङ्गारिंदै
लाग्छ, यो समय रङ्गिन बहारको हो
नीलो आकाशभरि चङ्गाहरू उड्दै होलान् गाउँमा
नवरात्री र घटस्थापनाको तयारी हुँदै होला
तर ,म बिरानो सहरमा मानव मेसिनजस्तै चलिरहेछु
झिसमिसेमै उठेर नित्यकर्म गरी उही सन्ध्यामा
लाग्छ,
विदेशमा कुनै दसैँ हुन्नन्
कुनै मन्दिर हुन्नन् , कुनै पूजा हुन्नन्
त्यसैले त यहाँ कुनै भगवान् पनि हुन्नन्
अनि जमरा टिका नि हुन्नन्
हुन्छ त केवल, आभास अनि अनुभूति
पिङको झड्का सयचोटी मच्चिए पनि
दसैँ, दसैँ जस्तो लाग्दैन विदेशमा
दुनियाँभरि खुसीयाली र शुभकामना आदानप्रदान हुँदैगर्दा
म यता सप्ताको अन्तिम प़लहरु मनाइरहेकी हुन्छु
साथीहरूमाझ पार्टी गरिरहेकी हुन्छु
अनि, विगतका ताजा सम्झनाका ती सुन्दर पलहरू
एक एक गरी सम्झिरहेकी हुनेछु
आफ्नो घरको आँगन सम्झी मुस्कुराई रहेकी हुनेछु
विदेशको दसैँ साँच्चै सारै सुविधामुखी लाग्छ
स्वादिष्ट भोजन र रक्सीका फरक स्वादहरू
विकासका उच्चतम नमुनाहरू
स्वतन्त्रताको अनुपम उदाहरण
तर पनि, विदेशमा दसैँ, दसैँ जस्तो लाग्दैन मलाई
मालश्रीको धुन बजे नि , कर्णप्रिय लाग्दैन
सायद विदेशिपन भनेको येही हो
आफ्नो धरातल चाहेर नि छोड्न नसक्नुको परिणाम हो यो
संस्कार स्रोत झल्किने मन हो
र पनि,
रातो पहिरन, रातो टिका अनि पहेँला जमरामा सजिने
दुष्प्रयास गरिरहेकी छु
नवरात्रको पललाई नयाँ जाँगर बनाई उदाई रहेकीछु हर दिन
उषाको पहिलो भानुसँगै
हो, विदेशको दसैँ यसरी नै आउने अनि जाने गर्छ हरेक साल
तर, यो सालको दसैँ साँच्चै दसैँ जस्तै हुनेछ
किनकि समयसँगै हिँड्न जानिसकें मैले
संसारमा जहाँ रहे नि रमाएर बाच्न सिकिसके मैले
सायद , समयसँगै मेरो मन पनि अब बिरनो बनिसक्यो क्यारे
र त , बिरानो माटोसँगै रमाउन सिकिसके मैले
जीवनका आशाका रश्मिहरू हरेक बिहानीको भानुसँगै
उदाउन थालीसके
र उदाई रहने छु पनि …..