पार्टीभित्रै महरालाई दुवै पदबाट मुक्त गराउने सक्रिय - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

पार्टीभित्रै महरालाई दुवै पदबाट मुक्त गराउने सक्रिय



बीबीसी- सङ्घीय संसद्‍ सचिवालयले सूचना टाँस गरेपछि सभामुखबाट कृष्णबहादुर महराले मङ्गलवार दिएको राजीनामा औपचारिक रूपमा टुङ्गोमा पुगेको छ।

महराले सुरुमा पठाएको राजीनामा पत्रमा अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख थियो।

त्यसबारे विभिन्न टिप्पणी भएपछि उनले ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्दहरू हटाएर अर्को राजीनामा पत्र पठाएको बुझिएको छ।

त्यसै पत्रको आधारमा संसद्‍ सचिवालयले ‘उपसभामुखको आदेश अनुसार’ राजीनाको सूचना बुधवार प्रकाशित गरेको हो।

सभामुखको हैसियतमा रहेको महराको तस्बिर र नाम पनि संसद्‌को वेवसाइटबाट हटाइएको छ।

नेकपाले किन चिन्दैन महरालाई?
त्यो प्रश्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अभिव्यक्तिपछि उठेको हो।

उनले ‘उहाँ (महरा) लाई अब नेकपा संसदीय दलले सांसदका रूपमा नचिन्ने’ टिप्पणी गरेको समाचार हिजो आएको थियो।

विगतमा सभामुख पदबाट बाहिरिएका व्यक्ति पार्टीको पूर्वनेताको हैसियतमा देखा पर्ने गरेका छन्। नेम्वाङको हकमा पनि त्यसै भएको हो।

तर उनले महराको हकमा त्यसो किन भने?

पार्टी अध्यक्ष समेत रहेका संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको पार्टीको सचिवालय बैठक महराले सांसद पदबाट राजीनामा दिनुपर्ने निचोडमा पुगेको हो।

त्यसकै आधारमा पत्रकारहरूको जिज्ञासको जवाफ दिएको जनाउँदै नेम्वाङ्गले बीबीसीसँग भने, “संसदीय दलको नेता पनि प्रधानमन्त्री नै भएकाले संसदीय दलमा के हुन्छ भन्ने कुरा पार्टीको निर्णयलाई ध्यानमा राखेर गर्ने कुरा होला भनेर मैले प्रस्ट गरेको थिएँ। अब त्यो त पार्टीले निर्णय गर्ने कुरा हो।”

हटाउन सक्ने?

‘पार्टीको निर्णयलाई ध्यानमा राखेर’ भन्ने उनको भनाइले पार्टीले महरालाई सांसद पदबाट हटाउन सक्ने सङ्केत गर्छ।

उनले सभामुख र सांसदको राजीनामा फरक प्रक्रिया भएको बताउँदै भने, “त्यसतर्फ (सांसद पदबाट राजीनामा दिनेबारे) सायद उहाँले सोचिराख्नुभएको होला त्यसबारे मलाईँ जानकारी छैन।”

महरा सत्ताधारी नेकपाबाट सांसद निर्वाचित भएका हुन्। कुनै पनि सांसद सभामुख भएपछि उसको दलीय सम्बद्धता नरहने व्यवस्था छ।

सभामुखबाट बाहिरिएपछि महरा सांसदमात्र रहेका छन्।

नेकपाले सभामुख र सांसद दुवै पदबाट उनले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेको थियो।

गुरुङ् भन्छन्: महरा पार्टी सांसद

उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन्।

नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरूङ् भन्छन्, “सांसदबाट राजीनामा नदिँदासम्म सांसद रहने भइहाल्यो। कि पार्टीले सांसदबाट उहाँलाई हटाएको भनि संसद्‌मा पत्राचार गर्नुपर्‍यो, कि उहाँले राजीनामा दिनुपर्‍यो। त्यो दुवै परिस्थिति अहिले देखिँदैन।”

महरामाथि आरोप लगाएकी भनिएकी महिलाले नेकपाको निर्णयपछि ‘कुनै पनि दुर्व्यवहार नभएको’ भन्दै महराको बचाउमा अन्तर्वार्ताहरू दिएको समाचार आएका छन्।

महरानिकट कतिपय नेताहरू ‘पार्टीभित्रैकै समूह महरालाई दुवै पदबाट मुक्त गराउन सक्रिय रहेको’ बुझाइ सुनाउँछन्।

तर सचिवालयमा रहेका पार्टीका नेताहरूले महराको सांसद पदबारे औपचारिक रूपमा टिप्पणी गर्न मानेनन्।