सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
प्रवृत्तिं च
निवृत्तिं च जना न विदुरासुराः।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते।।७।।
आसुर् मानिसले
प्रवृत्तिपथ यो किंवा निवृत्तिपथ
बुझ्दैनन् र बनिन्छ लक्ष्य उनको आजीविका केन्द्रित।
भित्री-बाहिरी शुद्धता विषयमा औ सत्यनिष्ठामहाँ
तिन्को प्रेम हुँदैन शुद्धि र सदाचारि सत्कर्ममा।।५।।
असत्यमप्रतिष्ठं ते
जगदाहुरनीश्वरम्।
अपरस्परसंभूतं किमन्यत्कामहैतुकम्।।८।।
ईश्वर छैन जगत् असत्य
भनी आसुर् पुरुष् भन्दछ
यस्को कारक छैन स्त्री-पुरुषका संयोगले बन्दछ।
प्राणीका विषयोपभोग सुखको आनन्ददेखि अरू
यस्को सार्थकता कहाँ छ र ? भनी भन्छन् ती आसुर्हरू।।६।।
एतां दृष्टिमवष्टभ्य
नष्टात्मानोऽल्पबुद्धयः।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः।।९।।
यस्ता कुत्सित
धारणाहरू लिई अन्तःकरण् नष्ट छ
तिन्को बुद्धि अतीव मन्द छ तथा ती निर्दयी छन् सब।
लोकैको अपकारमा रुचि लिने ती आसुरी मूर्खले
लिन्छन् जन्म, अहित् गरी जगतको नाश् गर्नकै हेतुले।।७।।
काममाश्रित्य
दुष्पूरं दम्भमानमदान्विताः।
मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रताः।।१०।।
कैले तृप्ति नपाइने
विषयका सुख्मा भई लम्पट
अज्ञानी बिनबिच्चका मतहरू स्वीकार गर्दै सब।
पाखण्डी, अभिमान अन्धजन ती उन्मत्त भै घुम्दछन्
घिन्लाग्दो व्यवहार हुन्छ तिनको दुष्कर्म नै गर्दछन्।।८।।
(क्रमशः)