फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते



एजेन्सी- फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ ।

मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् । यससँगै मेम्सीले फिफा अवार्ड सर्वाधिक जित्ने खेलाडीको नयाँ किर्तिमान पनि रचेका छन् । छैटौं पटक अवार्ड जितेका मेस्सीले यसअघि रोनाल्डोसँगै पाँच पटक यस अवार्ड जितेका थिए । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए ।

फिफाले मनोनयनको शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आवद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दै आएको छ । मेस्सीले सबैको मतका आधारमा औसत ४६ अंक, भानडाइकले ३८ अंक र रोनाल्डोले ३६ अंक पाएका थिए ।

यसैगरी फिफा उत्कृष्ट बर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोप र महिला प्रशिक्षकको अवार्ड अमेरिकाकी जील एल्लिसले जितेका छन् । क्लोपले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र टोट्टनहामका माउरिसिओ पोचेटिनोलाई पछि पारेका थिए । उत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी मेगान रापिनोले जिनित् । उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पारेकी थिईन् ।

यसैगरी बर्ष २०१९ को फिफा पुकास अवार्ड रोमानियाका डेनियल जसोरीले पाए । उत्कृष्ट पुरुष गोलरक्षक लिभरपुलका एलिसन बेकर र महिला गोलरक्षक अवार्ड नेदरल्यान्ड्सकी सारी भान भीनेनडालले जिते । फिफा फ्यान अवार्ड सिल्भिया ग्रेकोले हात पारे । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसालाई प्रदान गरिएको छ । फिफाले इटालीको मिलानमा आयोजित भब्य समारोहमा विभिन्न विधाको अवार्ड प्रदान गरेको थियो ।