दिल्लीमा पनि 'संविधान दिवस' भव्य रुपमा मनाइयो - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

दिल्लीमा पनि ‘संविधान दिवस’ भव्य रुपमा मनाइयो



नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा पनि राष्ट्रिय संविधान दिवस भव्य रूपमा मनाइएको छ । दिल्लीस्थित नेपाली राजदूतावासमा विशेष कार्यक्रम गरी शुक्रवार संविधान दिवस मनाइएको हो ।

समारोहका क्रममा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाली राजदूतावासको प्राङ्गणमा राष्ट्रिय झन्डा फहराएका थिए । विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उपस्थित समारोहमा बोल्दै राजदूत आचार्यले सम्पूर्ण नेपालीहरूलाई संविधान दिवसको शुभकामना दिए।

विशेषगरि भारतमा रहेका नेपालीहरूले यहाँ बस्दा नेपालको प्रतिनिधित्व गर्ने भएकाले देशको सम्मानमा आँच आउने कुनै पनि काम नगर्न आग्रह उनले गरे । देशको संविधान विश्वमै उत्कृष्ट रहेको भन्दै राजदूत आचार्यले संविधानमा केही असन्तुष्टि रहेपनि त्यसलाई समयसापेक्ष संशोधन गर्ने व्यवस्था पनि यही संविधानमा रहेको बताए । उनले संविधानका कयौँ उत्कृष्ट प्रावधानका बारेमा बताउँदै संविधानले गरेको समावेशिताको अङ्गीकार महत्त्वपूर्ण पक्ष भएको बताए ।

समारोहमा बोल्ने अधिकांश वक्ताहरूले केही असन्तुष्टि रहेपनि संविधान विश्वको सबैभन्दा राम्रो संविधान भएको बताएका थिए ।

संविधान दिवसको अवसरमा राजदूत नीलाम्बर आचार्य र उनकी पत्नी सुष्मा आचार्यले रात्रीभोजको पनि आयोजना गरेका थिए । सो रात्रीभोजमा दिल्लीस्थित विभिन्न कूटनीतिक नियोगका अधिकारीहरू, उच्च पदस्थ भारतीय अधिकारीहरू र नेपाल-भारत मामिलाका जानकारहरू एवं प्रवासी नेपालीहरू उपस्थिति थिए । संविधान दिवस तथा राष्ट्रिय दिवस बिहीबारबाट ३ दिनसम्म विशेष कार्यक्रमहरू गरी मनाइँदै छ । नेपालको संविधान जारी भएको दिनलाई विशेषरुपमा सम्झना गर्न प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।