सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४५) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४५)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च।
मूर्ध्‍न्याधायात्मनः प्राणमास्थितो योगधारणाम्।।१२।।
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम्।।१३।।

रोकी इन्द्रियवर्ग औ हृदयमा खैँचेर राखी मन
आफ्नू प्राण ललाटमा लगी बसी बाँधेर योगासन।
मेरो ध्यान गरेर जप्तछ भने ओम् ब्रह्म एकाक्षर
देहत्याग पछाडि भेट्छ उसले मेरै परंपद् अब।।९।।

अनन्यचेताः सततं यो मां स्मरति नित्यशः।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः।।१४।।
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम्।
नाप्‍नुवन्ति महात्मनः संसिद्धिं परमां गताः।।१५।।

जो सम्झन्छ मलाई मन् दिई सधैँ प्रेम्‌साथ रातोदिन
नित्यै योगी कहिन्छ ऊ सुलभ छु हे पार्थ ! निम्ति म।
अर्को जन्म छ दुःखको घर तथा अत्यन्त नश्वर् पनि
मेरा रूपमहाँ मिलेपछि कुनै जन्मन्न फेरी अनि।।१०।।

आब्रह्मभुवानाल्लोकाः पुनरावर्तिनोर्जुन।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते।।१६।।
सहस्रयुगपर्यन्तमहर्यद्‌ब्रह्मणो विदुः।
रात्रि युगसहस्रान्तां ते
होरात्रविदो जनाः।।१७।।

यो संसार त ब्रह्मलोकतक नै जीवन्-मरण् क्षेत्र हो
कत्ति हुन्न ममा मिलेपछि भने डर् त्यस् पुनर्जन्मको।
जम्मा एक हजार चार युगको ब्रह्माजीको एक् दिन
भन्छन् रात पनि त्यसैसरी हुने यो तत्त्व जान्ने जन।।११।।

अव्यक्ताद्व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे।
रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके।।१८।।
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते।
रात्र्यागमे
वशः पार्थ प्रभवन्त्यहरागमे।।१९।।

जन्मन्छन् सब जीव दिन् सुरु हुँदा ब्रह्माजीबाटै अनि
सारा सृष्टि विलीन हुन्छ उनमै सन्ध्या हुँदा दिन्‌दिनै।
बारम्बार हुँदै र नष्ट बनिँदै हुन्छन् यी प्राणी यहाँ
जन्मन्छन् बिचरा बिहान र सबै मर्छन् अनि साँझमा।।१२।।

(क्रमशः)