सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४४) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४४)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना।
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयम्।।८।।

यस्‌मा यो नियम् कि ईश्वर-स्मरण् अभ्यासरूप् योगमा
जो मानिस् छ निपुण् र अन्ततिर मन् जाँदैन जस्‌को यहाँ।
धैर्यैपूर्वक चित्तमा हरघडी त्यै दिव्य रूप् स्थिर् गरी
जस्‌ले पूजन गर्छ चित्‌स्वरूपको त्यो मिल्छ उस्‌मै पछि।।५।।

कविंपुराणमनुशासितारमणोरणीयांसमनुस्मरेद्यः।
सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्ण तमसः परस्तात्।।९।।

जो सर्वज्ञ छ औ अनादि छ, जगत् शासक्, नियन्ता अनि
जो अत्यन्त छ सूक्ष्म गर्छ सबको पालन् र पोषण् पनि।
जो हो नित्य अचिन्त्यरूप रविझैँ चैतन्य ज्योतिर्मय
तम्‌देखि पर त्यो छ पार्थ ! योगी स्मरण् गर्दछ।।६।।

प्रयाणकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम्।।१०।।

श्रद्धायुक्त भएर योगबलले मन्‌लाई निश्चल् गरी
आँखीभौँ बिच प्राण केन्द्रित गरी राखेर राम्रो गरी।
यस् रीत्‌ले जुन व्यक्तिले मरणमा उस्‌को स्मरण् गर्दछ
त्यस्‌ले पाउँछ दिव्य त्यै पद यहाँ पाइन्न जो हत्पत।।७।।

यदक्षरं वेदविदो वदन्ति विशन्ति यद्यतयो वीतरागाः।
यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति तत्ते पदं संग्रहेण प्रवक्ष्ये।।११।।

जस्‌लाई अविनाशी ईश्वर भनी वेदज्ञले भन्दछन्
योगी रागरहित् बनेपछि गई जुन् ठाउँमा पस्तछन्।
जुन् पाऊँ भनि ब्रह्मचारी जसले गर्छन् नियम् पालन
त्यै पद्लाई लिएर भन्दछु यहाँ सङ्क्षेपमा अर्जुन।।८।।

(क्रमशः)