सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४०) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

रसोहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु।।८।।
पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ।
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु।।९।।

पानीमा रस हूँ, म अर्जुन ! प्रभा हूँ चन्द्र औ सूर्यमा
मानिस्‌मा पुरुषार्थ, शब्द नभमा, ओङ्कार हूँ वेदमा।
पृथ्वीमा म पवित्र गन्ध हुँ भने, मै तेज हूँ अग्निमा
जीवन् हूँ सब जीवमा र तप हूँ ध्यानी तपस्वीमहाँ।।५।।

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम्।।१०।।
बलं बलवतां चाहं कामरागविवर्जितम्।
धर्माविरुद्धो भूतेषु कामो
स्मि भरतर्षभ।।११।।

जीवात्माहरूको सनातन बिऊ मैलाई जानी लिनु
तेजस्वीहरूको म तेज हुँ भने मै प्राज्ञको बुद्धि हुँ।
बल् हूँ मै बलीको, म निःस्पृह तथा आसक्तिले वर्जित
प्राणीको निज धर्मशास्त्रअनुरूप् कामै पनि हूँ बुझ।।६।।

ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि।।१२।।
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत्।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम्।।१३।।

हुन्छन् सत्त्व, रजस्तमो गुणजनित् जुन् भाव प्राणीमहाँ
तिन्‌को जन्म मबाट जान तर ती कैल्हे हुँदैनन् ममा।
यी तीनै गुणका विकारहरूले सारा जगत् व्याप्त छ
त्यस्‌ले ‘अव्यय हूँ र निर्गुण म हूँ’ जान्दैन लोक्‌ले तर।।७।।

दैवी ह्येषा गुणमयी मम माया दुरत्यया।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते।।१४।।
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः।।१५।

यो माया त्रिगुणात्मिका छ अति नै अद्‌भुत् छ औ दुस्तर
मेरा आश्रयले मनुष्य सहजै यस्‌लाई पार् गर्दछ।
पापी, मूर्ख, अधम् मनुष्य कहिल्यै हुन्नन् ममा आश्रित
मायाले गरि बुद्धि कुण्ठित हुँदा झन् बन्दछन् आसुर।।८।।

(क्रमशः)