सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३९) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३९)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ सप्तमोध्यायः

श्रीभगवानुवाच
मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु।।१।।

आज्ञा भो अब कृष्णको तिमी सखे ! मैमा लगाई मन
मैमा आश्रित भै प्रयास गर यो मन्निष्ठ योगी हुन्।
मेरो यो उपदेश पालन गरी यस्‌मै चले निश्चय
मेरो वास्तव रूप चिन्न सजिलै सक्ने हुनेछौ प्रिय !।।१।।

ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः।
यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते।।
मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः।।३।।

विज्ञानैसँग तत्त्वज्ञान् म सबै व्याख्यान गर्छु सुन
जुन् जानेपछि जान्न योग्य भवमा छुट्तैन केही अब।
चेष्टा गर्छ मलाई पाउन, कुनै यौटा हजारौँमहाँ
तीमध्ये पनि चिन्न सक्तछ कुनैले मात्र वास्तव्‌महाँ।।२।।

भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।४।।
अपरेयमितस्त्त्वन्यां प्रकृतिं विद्धि मे पराम्।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत्।।५।।

अग्‍न्याकाश र वायु, भूमि, जल, मन्, प्रज्ञा, अहङ्कारका
यी आठै रूप धर्दछे प्रकृतिले मैबाट प्रेरित् हुँदा।
यस्‌लाई अपरा भनिन्छ र परा भन्ने छ अर्की अब
ऊ चैतन्य स्वरूपमा रही जगत् थाम्छे चराचर् सब।।३।।

एतद्योनीनि भूतानि सर्वार्णीत्युपधारय।
अहं कृत्स्‍नस्य जगतः प्रभवः प्रलयस्तथा।।६।।
मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनंजय।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव।।७।।

सारा जीवजगत् यसै प्रकृतिले पैदा गरेकी बुझ
उत्पत्ति पनि हूँ विनाश पनि हूँ सारा जगत्‌को म त।
केही छैन मदेखि भिन्न भवमा भन्ने बुझी ल्यौ अब
धागामा उनिने मणीहरूसरी मैमा जगत् बद्ध छ।।४।।

(क्रमशः)