कविता : झापा र चितवन
– प्रकाश चापागाई
झापाको र चितौनको मिलन यो वाचाल वा चाल हो
केही गर्न सपार्न हो कि अथवा यो जालको खाल हो
साँच्चै सुन्दर चाहना र सपना सिध्याउने मेल हो
ठट्टा व्यङ्ग विनोद हो कि रमिता षड्यन्त्र हो झेल हो ?
आँखा घुम्छ कताकता जगतले बुझ्नै नसक्ने गरी
बेग्लै ताल छ ओठ या लवजमा कौवा कराएसरि
सिङ्गै देश उता रुँदैछ बिचरो झापा भने दङ्ग छ
उस्तै ताल चितौनको छ अहिले आनन्दमा मग्न छ।
सुर्ता कत्ति लिँदैन चित्रवनले झापा झनै सिंह झैँ
गर्जेकोछ विकार मानसिकता बोकेर उन्मत्त भै
बोलीमैँ छ विकास भाषण सुनी हामी उसै दङ्ग छौँ
नाच्दै कम्मर भाँच्दछौ दिनदिनै समृद्ध भै धन्य छौँ।
झापाको इतिहास बाङ्गिन गयो खोक्रो भयो देश यो
आसा केन्द्र चितौनको छवि झनै खुस्केर पाताल गो
झापाली जन योजना भन छ के यी दासका दास भै
बाँच्नै निम्ति चितौन बाँच्छ कसरी आसा उधारो लिँदै।
यौटै जङ्गल भित्र सिंह दुइटा देख्दै छ झापा अनि
हल्लाइकन पेट चित्रवन यो बस्दैछ औँला गनी
यौटै धड्कन भन्दछन् तर कतै देखिन्न यौटै मन
देखिन्नन् किन मन्त्रमुग्ध दुनियाँ पार्ने कुनै लक्षण ?
हामी मौन भएर रामरमिते बन्ने अझै हो भने
झापाको र चितौनकै पछि परी पट्टी लगायौँ भने
बाँचौँला तर बाँच्नुको छ तरिका दुर्नामले नामले
बाँच्ने नै यदि हो भने अब उठौँ सङ्कल्पले सानले।
-0-