कालीप्रसाद बाँस्कोटालाई सङ्गीत चोरेको आरोप - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कालीप्रसाद बाँस्कोटालाई सङ्गीत चोरेको आरोप



हिमालपोस्ट/काठमाडौँ-

नाम चलेका सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटामाथि सङ्गीत चोरेको पुनः आरोप लागेको छ।

महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए अनुसार बाँस्कोटाले नेपाल आइडलका फाइनलिस्ट सुमित पाठकको आवाजमा रहेको गीत ‘समाचार’को सङ्गीत चोरी गरेका हुन्। यस विषयमा प्रहरीमा उजुरी परेको थियो।

आफ्नो गीत ‘बुजाइदेउन तिमी मलाई’को सङ्गीतसँग हु-बहु मिलेको भन्दै बिक्की महतले बुधबार महानगरीय प्रहरी परिसरमा उजुरी गरेका हुन्।

यसभन्दा अघि पनि सङ्गीतकार बाँस्कोटामाथि सङ्गीत चोरीको आरोप लागेको थियो। उनको आफ्नै शब्द, सङ्गीत तथा स्वरमा रहेको गीत ‘इन्स्टाको फोटो’को सङ्गीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतको सङ्गीतसँग हुबहु मिलेको आरोप लागेको थियो। यसरी विवाद उठेपछि  सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ‘इन्स्टाको फोटो’ तयार गरेको स्विकारीसकेका थिए।

बाँस्कोटा लोकप्रिय गायन रियालिटी सो ‘नेपाल आइडल’को दुवै सिजनमा निर्णायकको रूपमा रहेका थिए।