सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम्।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम्।।१०।।

हुन् सेनापति भीष्म पाई जसको नेतृत्व राम्रोसँग
हाम्रो पक्ष अजेय नै छ, अति नै ऊँचो छ यस्‌को तह।
यो हेरी रिपुपक्ष निम्न तहको देखिन्छ स्पष्टैसित
त्यस्‌को नायक भीमसेन छ गुरो ! जित्छौँ सजिलैसित।।९।।

अयनेषु च सर्वेषु यथाभागमवस्थिता: ।
भीष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि ।।११।।

सेनानायक भीष्मका पँजनीमा जुन् ठाउँ पुग्नूभयो
त्यै ठाउँ बसी धैर्यसाथ सबले कर्तव्य बुझ्नुपऱ्यो।
सब्‌भन्दा अघि पार्नुपर्छ सबले आफ्नै स्थिति बन्धिलो
त्यस्‌भन्दा पछि गर्नुहोस् सब मिली रक्षा उनै भीष्मको।।१०।।

तस्य संजनयन्हर्षं कुरुवृद्ध: पितामह:।
सिंहनादं विनद्योच्चै: शङ्खं दध्मौ प्रतापवान्।।१२।।
तत: शङ्खाश्च भेर्यश्च पणवानकगोमुखा:
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत्।।१३।।

दुर्योधन् खुसी होस् भनेर कुरुमा सम्मान्य श्रीभीष्मले
गर्जी सिंहसमान, शङ्ख पनि पो फुक्नुभयो जोरले।
त्यस्‌देखि पछि शङ्ख, ढोल, नगरा, कर्नाल नानाविध
लागे बज्न बिछट्ट फैलिन गयो चौतर्फ कोलाहल।।११।।

तत: श्वेतैर्हयैर्युक्ते महति स्पन्दने स्थितौ।
माधव: पाण्डवाश्चैव दिव्यौ शङ्खौ प्रदध्मतु:।।१४।।
पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनंजय:।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर:।।१५।।
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर:।
नकुल: सहदेवश्च सुघोषमणिपुष्पकौ।।१६।।

चन्द्रज्योतिसमान शुभ्र हयले तानिन्छ जो हर्दम
बस्नूभो त्यहि दिव्य रथ्‌बिच गई श्रीकृष्ण औ अर्जुन।
देवैदत्त र पाञ्चजन्य भनिने हुन् शङ्ख दोटै शुभ
फुक्नूभो निज दिव्य शङ्ख दुइले थर्काई भूमण्डल।।१२।।
त्यस्तै भीषण कर्म गर्न सुरिने ती भीमसेन्‌ले पनि
आफ्नू शङ्ख बजाई पौण्ड्र भनिने गर्दा भए सन्‌सनी।
आफ्नू शङ्ख छ जो अनन्त विजयी फुक्छन् युधिष्ठिर् पनि
माद्रीका सुतले सुघोष र मणीपुष्पक बजाए अनि।।१३।।

(क्रमश:)