व्यापक जनदबाबपछि विषादी परीक्षण सुरु - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

व्यापक जनदबाबपछि विषादी परीक्षण सुरु



हिमालपोस्ट/काठमाडौँ –

(रिपोर्टर्स नेपाल)

सर्वोच्च अदालतको आदेश र चौतर्फी जनदबाबपछि सरकारले विषादी परीक्षण सुरु गरेको छ। काठमाडौँको कालिमाटीदेखि भन्सार नाकामा विषादी परीक्षण सुरु गरिएको छ। एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण सरकारले रोकेको थियो।

विषादी परीक्षण रोकेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो। सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ। विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा बिहीबार माफी पनि मागेका छन्।

चौतर्फी विरोधपछि भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि विषादी परीक्षण सुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रबार साँझदेखि विषादी परीक्षण सुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ। प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण सुरु गरेको छ।

यता शुक्रबार विहानै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे। उनले त्यहाँ विषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे।

तरकारी र फलफूल परीक्षणको रिपोर्ट तीन दिनभित्र दिने निर्देशन पनि दिएका छन्। कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोर्ट दिन मन्त्रीले निर्देशन दिएका छन्।