कविता : प्रेमको प्रेतात्मा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कविता : प्रेमको प्रेतात्मा



~समाश्री~

तिम्रो छातीमा सुम्पिएर आफ्नो शिर
जहाँ बिसाएको थिएँ आफैँलाई
र कोरेको थिएँ
केही अडबाङ्गे अक्षरहरू औँलाले
त्यतै छातीको बायाँ पाटोमा
त्यतिबेला
के लेखेँ ! सायद तिमीले होस गरेनौ
होस मलाई पनि थिएन
लेख्दा
केवल लेख्दै मात्र गएँ

अक्षर आफैँमा पूर्ण छैनन्
अक्षर अक्षर जोडिनु पर्छ शब्द बन्नलाई
जसरी तिमी र म जोडियौँ नयाँ शब्द बन्न
शब्द पनि भावबिना अस्वादिलो छ
भावनाको चास्नीमा डुबाए स्वाद ओकल्छ
छातीमा लेखिएका अडबाङ्गे अक्षरहरूका भावना
केवल तिमीले मात्रै बुझिदिन सक्थ्यौ
र त तुहिए शब्दहरू
तिमीले नबुझिदिँदा

ऋतुहरू समयको फेरबदल मात्र हो
जसरी समयको एक लामो पाटोमा
दुई किनार बनेर ध्रुबीकृत भएर रहेको प्रेम
त्यतिबेला
फूलझै फक्रिन सक्थ्यो
परागझैँ मग्मगाउँन सक्थ्यो
झरनाझैँ तान भर्दै आफ्ना सप्तरङ्ग फिँजाएर झर्न सक्थ्यो
बाँच्न सक्थ्यो प्रेम बनेर
सँधै सँधै यतैकतै हामी बीच
कतै तिम्रो नियतले कतै मेरो नियतीले
छातीमा कोरिएका अडबाङ्गे शब्दहरू
प्रेमको प्रेतात्मा मात्र बनेर रहे ।।

-0-