गगन थापाले प्र.म.ओलीलाई भने - घुँडाको भ्वाङ देखाउनुहुन्छ कि ? - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

गगन थापाले प्र.म.ओलीलाई भने – घुँडाको भ्वाङ देखाउनुहुन्छ कि ?



हिमालपोस्ट/काठमाडौँ 

नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद गगन थापाले भारतसहित अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति व्यङ्ग्य गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– ‘प्रधानमन्त्रीको मान राख्‍न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौँ, सरकारी निर्णयको मान राख्‍न विषादी तथा फलफूलसहितको तरकारी तथा फलफूल पनि खाइदिउँला । सम्माननीय सभामुख महोदयमार्फत प्रधानमन्त्रीज्यूलाई यति मात्र सोध्‍न बाँकी छ– तपाईँको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो, घुँडामा भ्वाङ कत्रो परेको छ, देखाइदिनुहुन्छ कि ?’

उने पारिबाट आएको सामान्य खोकीको आवाजले सरकार थला परेको टिप्पणी समेत गरे ।

उनले भने, ‘सरकारले आयात हुने कृषिजन्य पदार्थमा विषादी परीक्षणको निर्णय गरी आवश्यक तयारी विना काम शुरू गरेकाले अप्ठ्यारो र झण्झटिलो त हुने नै भयो । तै पनि काम राम्रो भएकाले केही समयका लागि महङ्गो तरकारी खाएर होस् वा तिउनबिनाको भोजन गरेर होस्, सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौँ । हाम्रो यस्तो साथ पाएपछि लागेको थियो– आफ्नो निर्णयमा सरकार अडिग रहनेछ । विलम्ब नगरी भन्सार बिन्दुमा पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ, मेरो देशमा विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिनेछैन । जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने तरकारी तथा फलफूलसँगै वारिबाट पारि जाने अलैँची र चियाको समेत हिसाबकिताब हुनेछ भनेर गर्जेर भन्ला भनेको त पारिबाट आएको मन्द खोकीको आवाजले थला पो पर्‍यो हाम्रो सरकार !’

भारतसहित अन्य देशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण सुरु गरेको तीन साता नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।