अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ? - अनिता देवकोटा - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ? – अनिता देवकोटा



काठमाडौँ –

भारतसहित अन्य मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारको ध्यानाकर्षण गराएकी छन्।

देवकोटाले राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने बताइन्।
काङ्ग्रेसका तर्फबाट निर्वाचित उनले आफ्नै निर्णय फिर्ता लिनुपर्ने अवस्था किन आयो भन्ने बारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।

उनले प्रश्न गरिन्, ‘यो कस्तो गाइजात्रा हो सभाअध्यक्षज्यू ? आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनका बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्‍याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने ? यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?’

विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयात गरिएका तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्ट्याउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र बिरोध हुँदै आएको छ।