मनाङेलाई भित्र्याएपछि नेकपाभित्रै चर्को असन्तुष्टि - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मनाङेलाई भित्र्याएपछि नेकपाभित्रै चर्को असन्तुष्टि



हिमालपोस्ट/काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङेलाई पार्टी प्रवेश गराउनु ठीक नभएको बताएका छन्। बिहीबार पोखरामा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पार्टी प्रवेश गराएको केही समयपछि नै फेसबुकमार्फत उनले मनाङेलाई पार्टीको साटो जेलमा राख्नुपर्ने बताएका हुन्।

मनाङेले काठमाडौँका गल्लीगल्लीमा व्यक्ति हत्यादेखि लुटपाट र अन्य अपराध गरेको र अदालत तथा प्रहरीमा उनका अपराधहरूको लामो सूची रहेको जनाउँदै जनतालाई दुःख दिने अपराधीलाई पार्टीमा नराखी जेलमा राख्नुपर्ने बताए। उनले मनाङेलाई नेकपामा प्रवेश गराउने नेतृत्वलाई फेरि चुनाव आउने भन्दै त्यसको हेक्का राख्न चेतावनी दिएका छन्।

बस्नेतले फेसबुकमा लेखेका छन्, ‘काठमाडौंका गल्ली गल्लीमा अझै पनि दीपक मनाङेका ब्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्। अदालत, प्रहरी र जनजनमा मनाङेका मुद्दाका फेहरिस्त छन् । बाँचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो, कम्युनिस्ट पार्टी किमार्थ हैन। नेकपा नेतृत्वगण चुनाव फेरि पनि आउँछ। हेक्का रहोस्।’

यस अघि नेकपाकै सांसद योगेश भट्टराईले पनि मनाङेलाई नेकपामा भित्र्याएकामा आपत्ति जनाइ सकेका छन् भने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि पार्टीभित्रै थुप्रै मनाङेहरू पहिलेदेखि नै भएको र यो कुनै नौलो कुरा नभएको भन्दै विरोध जनाएका थिए।