'बेटी पढाऊ, बेटी बचाऊ' अन्तर्गत ११४ छात्रालाई साइकल वितरण - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत ११४ छात्रालाई साइकल वितरण



जनकपुर

बिहीबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्रालाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री राउतलगायतले निशुल्क साइकल प्रदान गरेका हुन्।

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा/टाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने बताए। सो कार्यक्रम विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो।

प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्क्तिमा राख्‍ने सोच लिएको बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महिला शिक्षाबिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एकपछि अर्को कार्यक्रम ल्याउन लागेको बताए। उनले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए।

सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्य लिएर प्रदेश २ सरकार अघि बढिरहेको जानकारी दिए।

चालू आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेश नं. २ भित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।