कथा : पाइला
– सरू पोखरेल
ऊ डेराको कोठामा चाबी नलगाई निस्की। लुगा फेरिन, कपाल कोरिन। बिस्तारै पाइला सडकतर्फ बढाई। ‘फेरी दोहोऱ्याएर नफर्कने’ अठोटलाई अझ दह्रो बनाउँदै हिँडिरहेका उसका पैतालाले यही सडकमा कति जुत्ता फटाए। आज फाटेका जुत्ता जस्तै मिल्काउन हिँडिरहेकी छ ऊ आफ्नो जीवनलाई , गह्रौँ गोडा घिसार्दै।
सधैँ उसँग भेट्ने गरेको तालको किनारमा ऊ पुगी। चौरमा थचक्क बस्दै सोची ‘अन्तिम पटक आज यहाँ बस्छु। जिन्दगी यही तालमा अस्ताउन लेखेको रहेछ। अब बाँच्न चाहन्नँ।’
हरियो सानो चौरमा ऊ बसेकी छ। अगाडि शान्त भएर ऊजस्तै चुपचाप बसिरहेको छ फेवातालको पानी। पर डाँडाबाट दुवैलाई नियाल्दै ओऱ्हालो झर्दैछ रातो घाम।केहि डुँगाहरू किनारको साङ्लामा बाँधिएका छन्। दुईचारवटा भने उसकै आँखा अगाडि बोटेको इशारामा तैरिरहेका छन्।
सुरुमा फेवाताल देखेर उसको मन भित्र खुसीको त्यत्रै ताल फैलिएको थियो। जब उसले यही ठाउँमा धेरैको तिर्खा मेटाई तब तालजस्तै पीडा थिग्रिन थाल्यो। ऊ भेटेपछि भने यही ताल फेरि कति मोहक बनेको थियो तर आज ……….।
ऊ गाउँबाट हिडेकी हो उज्यालोको खोजीमा, धेरै अगाडि, जतिखेर राम्ररी फक्रेकी पनि थिइन। अँध्यारोमा छेकिएका चाहना पूरा गर्न, परिवार भित्रको दु:खको कालो पहाड हटाउन, चराले गुँड छोडेजस्तै चटक्क छोडेकी हो उसले घर।
ऊभित्र कला थियो, गलाले दिएको कला। कोइली जस्तै गाएर हुर्केकी ऊ। उसका घरआँगन बनपाखा जानकार थिए। तर एक दिन टाढाबाट आउनेले पनि थाहा पाए उसको प्रतिभा। त्यही प्रतिभाकै भरमा केही कमाउन उनैको साथमा यहाँ आई। दस पछिको पढाइ उतै छुट्यो। यही तालछेउको नामी होटेलमा उसले गीत गाउन थाली।
ऊ जस्तै सपना बोकेर आएका अरू पनि थिए त्यहाँ। कोही उसको आवाजमा मादलको धुन भर्थे, कोही बाँसुरीको। अभावका पीडाहरू सबैले मिसाउँथे। उनीहरूले आफ्ना वेदना गाए, रहरहरू गाए, अपूर्ण सपनाहरू गाए। साँझ पिच्छे फेरिएका श्रोता अनि र्दशक माझ गाए। प्रशंसा र बक्सिसबाट ऊर्जा लिएर गाइरहे।
सामान्य लाउने-खाने उसको चाहना बिस्तारै पूरा हुँदै गयो। तर घरभित्र ठूलो अभावको खाडल थियो। उसको कमाइले कहिलै पुर्न नसक्ने खाडल। त्यही खाडलले अर्को भयङ्कर खाईमा धकेल्यो उसलाई।
बाबुको काँधको छालाले सँगसँगै दबाव दियो। आमाको छातीको धम्कीले जोड लगायो। कालो बादलभित्र पस्नै आँटेको भाइबहिनीको भविष्यले पनि बिस्तारै घचेट्न थाल्यो। ती सबैका लागि पीडा गाउँदागाउँदै कसैको उक्साहटमा कहिलै नमेटिने पीडाकै यात्रा रोजी उसले। धेरैले सजिलै हिँड्न नरुचाउने बाटो ऊ हिँडी। फक्रिँदा फक्रिँदैकी कोमल फूल ऊ झरीबादल, असिना आँधीबेहरी सबैबाट लछारिएर क्षतविक्षत बन्दै घिस्रिरही।
उज्यालो खोज्दाखोज्दै एक्कासी अध्ँयारोको दुनियाँमा बिस्तारै समाहित भई ऊ।
उसले आफ्नो कलाको पङ्ख काटी। त्यही होटेलको बगैँचा नजिकको स्टेजबाटै अस्तायो उसको कला। कतिले भनेका थिए रेकर्ड गराएर बजाए हिट हुन्छ गाना। तर ऊ सोखकी गायिका नभई बाध्यताकी गायिका थिई। प्रतिभा सिर्फ बाँच्ने बाटो थियो। कुनै सम्पन्नकी छोरी भएकी भए आज ऊ ठूलै गायिका हुन्थी। उसको कलाको आवाज दुनियाँले सुन्थे र चिन्थे।एक साँझ सुन्नेले कति न सम्झलान् कति न चिन्लान्।
ऊ कुवा बनी। कैयौँ देशी-विदेशीले घटघटी धित मरुन्जेल पिए। शरीरलाई चौतारो जस्तै बनाइदिई। बटुवाले थकाइ मारे।बाटो लागे।
ऊ गाउँ जान छोडी। आफन्त भेट्न छोडी। तर उसले परिवारका लागि पीडाले कमाएको खर्च जुटाइरही। एउटा डेरा थियो, जहाँ ग्राहकसँग नहुँदा ऊ सुस्ताउँथी। जब डेरा भित्र भकभकी मन उम्लिन्थ्यो, उम्लेको मनलाई चिस्याउन यही किनारलाई साथी बनाउथी। यही फेवाताललाई हेरेर पोलेको छाती आँसुले भिजाउँथी।
करिब छ महिना जति अगाडि एक साँझ ऊ सुस्ताइरहने किनारमा एक युवक टोलाईरहेको थियो।चुरोटको धुवाँको मुस्लोले घरीघरी अनुहार छोप्दै बसेको ऊसँग उसलाई पहिलो दिन केही मतलब भएन। दुईतीन पटक उही अवस्थामा भेटिएपछि भने उसले अचम्म मानी।उसले पनि ऊतर्फ नजर फ्याँक्यो। तर, उनीहरूका आँखा मात्र बोले।
पुन: अर्को भेटमा उनीहरूको ओठले केही बोल्न खोजे तर एउटा टुक्रा बेरङ्गी हाँसो फिस्स हाँसेर ती चुप भए।
“तपाईँ सधैँ आउनुहुन्छ नि !” दुईचार दिनको लगातार मौनतापछि उसैले शून्य तोडी। उसको पेशाले उसलाई धक फुकाउन सहज बनायो सायद।
“तपाईँ पनि सधैँ देख्छु त म।” उसले बिनाउत्साह बोल्यो।
सामान्य परिचय मात्र भयो त्यो दिन। तर त्यस पछिका नियमित भेटले भने उनीहरूलाई एक आपसमा पुरै खुला बनायो। आआफ्ना जीवनका लुकेका पाटाहरू क्रमश: खोले दुवैले।
“म एक यौनकर्मी हुँ। विगत दश वर्षदेखि यही धन्दाले मेरो जीवन चलिरहेछ।” उसले तालको पानी हेर्दै कठोर आवाजमा भनी। बोलिरहँदा ऊ फेवातालजस्तै गहिराइमा पुगी अनि तुरुन्तै डुँगाजस्तै उत्रेर किनारमा आई अनि माछापुछ्रेजस्तै शिर बनाएर उसका बारेमा सोधी।
“म अमेरिका थिएँ।कार्ड बनाउने प्रक्रियाले लामो समय नेपाल फर्किन सकिनँ। मेरो भिसा सकिएकोले अवैधानिक बसाइ थियो।” बोल्ने क्रम रोकेर लामो स्वास फाल्यो उसले।
“हामीले प्रेम विवाह गरेका थियौँ। तर धेरै समय सँगै बस्न पाएनौँ। केही समयमै हामी परिस्थितिवश टाढा भयौँ। उसले मलाई धेरै कुरी। नौ वर्षसम्म कुर्न सक्नु पनि ठूलै कुरा हो। एक दिन उसको धैर्य टुट्यो। ऊ मसँगको नाता तोडेर अर्कोसँग जोडिन पुगी। उसले छोडेर गएको भन्दा पनि मेरो कारणले जान बाध्य भएको कुराले दुख्छ मलाई। मेरो कस्तो दुर्भाग्य ग्रिनकार्ड बनेको खबर दिन सम्पर्क गर्दा ऊ मबाट टाढा भैसकेकी थिई। मेरो बाच्ने चाहना सकियो आत्महत्या गर्न मात्रै मन लाग्ने भयो। साथीहरूले डाक्टरकहाँ लगे। खासै सुधार नदेखेपछि नेपाल पठाए। काठमाण्डौ पनि बस्नै मन लागेन। एक दुईले पोखरा जाने सल्लाह दिए। यहाँ आएँ। खै यो मनोरममा पनि मलाई उराठ नै लाग्छ।” नरोकिईकन ऊ बोल्यो।
फेवातालको किनारमा भेट्ने, भेटिने क्रम चलिरहयो।
बिस्तारै सामान्य परिचयबाट बलियो मित्रता र मित्रताभित्र एउटा मीठोसम्बन्धको बीउ अङ्कुराउन थाल्यो उनीहरूमाझ।
सुरुमा त उसले यसलाई खासै ठानिनँ। किनकि कैयौँ पटक यस्ता अङ्कुराउँदा सम्बन्धहरू नहुर्किँदै केही दिनमा ठिँगुरिन्थे अनि झरेर मर्थे । तर जब मनले पत्यारको किलो गाड्यो उसले पनि फरक अनुभूति भित्रभित्रै हुर्काउन थाली।
“अपूर्व मेरो विगतलाई तिमी कसरी स्वीकार्न सक्छौ ?” उसले टाढा क्षितिज नियाल्दै बोली एक दिन।
“सुधा, तिमी मेरो वर्तमान हौ मलाई विगतसँग सरोकार छैन।” उसले सुधाको आँखाको गहिराइसम्म पुग्ने प्रयास गर्दै बोल्यो।
विगतलाई यसरी पचाईदिने अपूर्व उसको नजरमा देवताभन्दा माथि भयो।
अर्पूवको बिथोलिएको जीवन क्रमश: सम्हालिएजस्तै भयो। उसले विस्तारै चुरोट होइन सुधाको गीतको नशा मन पराउन थाल्यो। हरेक भेटमा सुधा एउटा गीत सुनाउथी उ एक्लो श्रोता हुन्थ्यो। उसको आवाजमा डुब्दै उत्रदै गर्थ्यो। ऊ बिस्तारै रक्सी पनि कम पिउने भयो।
उनीहरू कहिले दिनभर तालमा नौकाबिहार गर्थे। कहिले फेवातालको किनारमा आधारात हुन्थ्यो। १० दिनको होटेल बुकिङ ४ महिना सरेको थियो। सुधाले मोटा रकम दिने ग्राहक बिर्सिसकेकी थिई। अब मात्र उसकी थिई।डेरामा ताला बन्द गरेर अपुर्वसँगै होटल बस्थी। एउटा मानसिक रोगको सिकार हुन थालिसकेको अपूर्वको जीवन सहज बनाइदिँदै थिई उसले।
साथीभाइ इष्टमित्र सबैबाट टाढिएको अपूर्व अब सबसँग सम्पर्कमा रहन थालेको थियो। असामान्य मानसिकताबाट सामान्य बनेको अपूर्व बाबुआमा भेट्न जानेभयो काठमाडौँ। त्यसपछि वैधानिक रूपमा बन्धनमा बाधिने उनीहरूको योजना थियो।
ऊ खुसी थियो।
“पोखराले तिमी भेटाइदियो। बाँच्न सिकाइदियो।” ऊ बोल्दै थियो। ४ महिनाको चिनजान पनि बर्षौँ पुरानो जस्तो भएको थियो।
सुधा एअरपोर्टसम्म छोड्न आई अपूर्वलाई।
काठमाडौँ पुगेपछि उनीहरू बीचमा लगातार कुराकानी भने भइनै रह्यो। विशेष कामले १५ दिन बस्नु पर्ने भएको उसले बतायो। अपूर्वको फोन रातिमात्र प्राय उठने गर्थ्यो।
एक्कासी उसको मोबाइल स्वीच अफ भयो। सुधाले घन्टाघन्टामा प्रयास गरी। एक दिन दुई दिन अहँ उठेन। घरको नम्बर थिएन। साथीभाइ इष्टमित्र कसैसँग सम्पर्क गर्ने माध्यम थिएन। उ निराश भई।फेसबुकमा म्यासेज गरी। उ अनलाइन पनि देखिएन। रिप्लाई पनि गरेन। खानपिन, निद्रा, खुसी सबै पर गए। छटपटि साथमा रह्यो।
प्रेमले हाऱ्यो, सायद तीतो विगतले जित्यो। समाजसामु यौनकर्मीलाई जीवनसाथी स्वीकार्न गाह्रै हुनेरहेछ। उसले एउटा औषधिको रूपमा मात्रै प्रयोग गरेछ उसलाई, डिप्रेसनबाट बाहिर निस्कने औषधि। धेरै कुरा सल्बलाए दिमागमा। पलपल बगरमा फालिएको जिउँदो माछो जस्तै बनीरही ऊ।
उसले अपूर्वलाई पनि आफूलाई भोग्ने लामो समयको ग्राहक लिस्टमा राखी। देवताको स्थान भन्दा माथिको स्थानबाट एकैचोटी पातालमा झारिदिई उसलाई।
अर्पूवले दिएका उपहार फोहोरका कन्टेनरमा फालिए। ऊसँग जोडिएका यादहरू दुख्दादुख्दै कोतरेर छुटाउन खोजी सुधाले। तालको किनारबाट पनि टाढा भई। उसलाई अपूर्वसँग जोडिएका हरेक कुरासँग प्रेम हैन घृणा जागृत हुन थाल्यो। उसले सबै सम्पर्क र सञ्जालबाट आफूलाई एक्लो पारी।
जीवन बाँच्नै पर्छ।बाँच्न खानु पर्छ, लगाउनुपर्छ। खान लगाउन कमाउनुपर्छ।अब ऊ सम्हालिन बाध्य भई। परिस्थितिले उसलाई फेरि उही जिन्दगीतर्फ धकेलिन विवश बनायो।
आज धेरै दिन बन्द भएको मोबाइलको बटन दबाएर अन गरी उसले। फेसबुकका भित्तामा अनिच्छापूर्वक आँखा दौडाई। थाहै नपाई अपूर्वको फेसबुक वालमा उसका औँला सलल बगे।
“साथी साह्रै दुःख लाग्यो तिम्रो आत्माले शान्ति पाओस्।”
उसको काँपिरहेको हातको बुढी औँला छिटोछिटो मोबाइलको स्क्रिनबाट तलतल बग्यो।
“काडमाडौँबाट नुवाकोट जाने क्रममा आफैँले चलाएको कार खसी अपूर्व खड्काका निधन भएकोमा हामी मर्माहत भएका छौँ।”
हातबाट मोबाइल खस्यो। ऊ डाँको छोडेर रोई। धेरै बेर सिरानीमा घोप्टिइरही। आफूलाई धिक्कार्नु धिक्कारी। आफ्नो सोचाइलाई सराप्दै रोई। ऊसँगका एकएक पल रुवाउन आइरहे। सिरानी भिज्यो, छाती भिज्यो तर ऊ रुन छोडिन।
खहरे सुकेर थाकेका उसका आँखाले एक्कासी सिलिङ नियाले। हातका नशा हेरे। ऊ जुरुक्क उठी र फटाफट बाहिर निस्की।
अहिले ऊ त्यही तालको पुरानो किनारमा छ। जुन किनार उसको हरेक दुखसुखको साक्षी छ।
ऊ बुझ्ने भएदेखिका समयका एकसे एक यादहरू तँछाड मछाड गर्दै ओइरिएका छन् दिमागमा अटाइनअटाइ।गाउँ, बाबुआमा, मलेसियामा भएको भाइ, सदरमुकाममा क्याम्पस पढ्दै गरेका भाइबहिनी। अति यातना दिने ग्राहक, भलाद्मी ग्राहक, होटेलमा गीत गाउँदाका साथीहरू र ऊ, विशेष ऊ, अपूर्व अनि ऊसँग बितेको पल।
नर्कबाट बाहिर निस्कन नलेखेको जिन्दगी लिएर के बाँच्ने। ऊ नरहेपछि बाँचेर जीवनको के अर्थ। यो अपवित्र शरीर अनि यो पापी मन।उफ् छटपटी बढ्यो। अपूर्व पुन: देवताको स्थानमा बसिसकेको छ।
“म तिमीसँग आउँछु। मैले सोचेको पापका लागि क्षमा माग्न आउँछु।” ऊ बडबडाई।
ऊ अझ तालनजिक पुगी।
सरर एक झोँका शीतल हावाले उसको गालामा हल्का स्पर्श गऱ्यो। एक्कासी अपूर्वको स्पर्शानुभूत गरी उसले। ऊ त्यहीँ छ। उसले भन्दैछ— “तिमी मलाई एउटा मीठो गीत सुनाऊ न सुधा, धेरै दिन भयो म तिम्रो आवाजको न्यास्रोले तड्पेको छु।”
साँच्चै उसले गीत गाउन थाली।
“म अब तिम्रो लागि गीत गाउँछु” मनमनै बडबडाई।
हातले अघिदेखि खेलाईरहेको सानो ढुङ्गा पानीमा फाली। चप्लक्क आवाज आयो। अनि एकैछिन चलेको पानी शान्त भयो।
सोची– मानौँ यही थियो अपूर्व भेटेको समय। सिर्फ एक पलमात्र।फेरि जस्ताको त्यस्तै।
दिमागमा क्रमश: आए। चुहिने छानो टालिएको घर, बाबुको ओभानो काँध, आमाको कम भएको दम, भाइको मलेसियाको कमाइ , अरू भाइबहिनीको नरोकिएको पढाइ आदिआदि। लामो स्वास फाली। समाजले दिएको दागभित्र आफू हराएर परिवारको खुसी समेट्न सकेकोमा सन्तोष मान्यो उसको मनले।
नजिकैको शिवमन्दिरतर्फ हेरी। धेरै पटक यहाँको महायज्ञमा दिएको दान सम्झी।वृद्ध र असक्तहरूलाई पटकपटक गरेको सहयोग सम्झी। अनाथालयमा गरेको सेवा सम्झी।कैयौँ आफन्तको अस्पताल लगेर बचाएको जीवन पनि सम्झी। एक्कासी आफैँप्रति माया लाग्यो। आफ्नो जीवनप्रति नै सम्मान जाग्यो। उसका पाइला पछाडि सरे। सरिरहे।
साँझ छिप्पिदै थियो।अघिसम्म पानीमाथि हिँडिरहेका डुँगाहरू किनारमा बास बसिसकेका थिए।बाराही मन्दिरको उज्यालो तेज देखियो। ताल पारीको जङ्गल गाढा भइसकेछ। एक्कासी घरको न्यास्रो लाग्यो उसलाई।बाआमा कतिखेर भेटौँ जस्तो भयो।
उ बिस्तारै फर्की। हिँड्दै शिवमन्दिरअगाडि पुगी, आँखा बन्द गरी, टाउको थोरै झुकाई। केही अरू मागी मागिन तर आज क्षमा भने पटक्कै मागिन उसले। सरासर डेरातिर लम्की। उसका पाइला तेज छन्। अघि जाँदा गह्रौँ भएका उसका गोडा यतिखेर कपास जस्तै हलुका भएका छन्। आफू बस्ने घरबाहिरको गेट फटाफट खोलेर भित्र पसी। आसपासका कोठाबाट आँखाहरू फुत्तफुत्त बाहिर निस्कँदै थिए।तर अरू बेला झुक्ने आफ्नो शिरलाई आज ठाडो बनाएर ति आँखातिर सोझ्याउँदै ऊ कोठाभित्र पसी। आँखाहरू एकएक गरेर आफैँ हराए।
एउटा अपूर्व अनुभूति तेजिलो हुँदै आयो हृदयमा।
-0-