कविता : प्रेमको रूप(?) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कविता : प्रेमको रूप(?)



मनिषा गौचन

अहा !
सुन्दर छ मान्छे
उसले मुस्काएको ओठ सुन्दर
उसले नियालेको आँखा सुन्दर
उसले बोलेको लवज सुन्दर
उसको आवाज सुन्दर
उसको स्पर्श सुन्दर
जब गहिरिँदै जान्छु उभित्र
उसले फेरेको सास सुन्दर
उसको ढुकढुकी सुन्दर
उसको पसिना सुन्दर
उसको रगत सुन्दर

अहा !
सबथोक सुन्दर
एउटा स्वर्गीय आनन्द

उ जुरुक्क उठ्छ
म उसको हात समात्छु
भन्छु,
मैले आफूलाई रित्याएँ
तिम्रो प्रेमले भरिन
ठिक यहीबेला उसका आँखाहरूले सोध्छन्,
मूर्ख मान्छे !
मुटुविहीन मान्छेसँग
कसरी सम्भव छ प्रेम ?
अनि म सोध्छु, त्यो ढुकढुकी ?
जवाफ आउँछ,
त्यो त भोकको आवाज थियो
साँच्चै ! तिमी गजब रहेछ्यौ
स्वादिलो

मेरो मुख रसाउँछ
र मुखभरिको पानी
म उसैको त्यो सुन्दर अनुहारमा छ्यापिदिन्छु
थुइक्क …!

 

२०७६, जेठ २० विहान १०: १०