कविता : कविताको जन्मदिनमा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कविता : कविताको जन्मदिनमा



~मुकुल दाहाल~

आँगनमा अँध्यारो
साँढे भइरह्यो
अनुहारमा बादल
ढाडिइरह्यो
मनमा कालो रात
आएर सुतिरह्यो
स्वादको अर्थ
लेखिएन जिब्रोमा
शरीर सर्वाङ्ग लुक्न
सकेन वस्त्रमा आजीवन
सुकिलो कुन
सुविधा हो
कुन चमत्कार हो
थाहा भएन ।
यस्तो परिवारमा
एकदिन जन्मियो
मेरो कविता ।
ऊ जन्मँदा रोएन
मान्छे जस्तो ।
ऊ जन्मँदा
परिपक्व पूर्ण जन्मियो ।
अर्थ लिएर
आवाज लिएर
स्वर लिएर
मेरा घाउहरू
मेरा दुखाइहरू
मेरा सबै वंशज गुणहरू
लिएर मर्यादित बाँच्यो
प्रत्येक जन्मदिनको भीरबाट
म लड्छु तलतिर
ठोक्किन्छु
निलैनिल हुन्छु ।
प्रत्येक जन्मदिनको भऱ्याङबाट
ऊ चढ्छ आकाशतिर ।
झन् वयस्क हुन्छ ।
प्रत्येक जन्मदिनमा
म मान्छेहरूको भीड लदाउँछु ।
जीवनको पिण्ड खिइरहेको
आतेसबाट भाग्न ।
ऊ नितान्त एक्लो
निडर रहन्छ आज जस्तै
किनकि
आज उसको जन्मदिन हो ।
म उसमा दीप्त
जीवनको राप
महसुस गरिरहेछु ।
मलाई ठुँगिरहेको मेरै
चिसो आँखाले हेरिरहेछ ।
म बुझिरहेछु
मेरो चुहिरहेको
जीवनको झोल
उसको लामो आयुको
अर्थवत्ताभन्दा
पुड्को छ ।
सङ्कीर्ण छ ।