स्मृति : लगनको गाँठो कसेको दिन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

स्मृति : लगनको गाँठो कसेको दिन



कुमुद अधिकारी

त्यो दिन ऐतिहासिक दिन थियो- वैशाख २७, २०५० आइतबार।

दिनहरू आआफ्ना कारणले ऐतिहासिक हुन्छन्। मेरा लागि वा हाम्रा लागि ऐतिहासिक भएको दिन अरूका लागि केही हुँदैन। अँ, त्यो दिन ईश्वरले तिम्रो र मेरो जोडा बाँधिदिनुभएको थियो। मैले तिमीलाई पाउनु ईश्वरकै देन त थियो। यो त मजस्तो मनुवाका लागि भाग्यमा लेखिएको सर्वश्रेष्ठ कुरा थियो।

त्यसो त २०४९ सालकै माघ वा फागुन महिनाको कुनै दिन मैले मित्र पवन रेग्मीले ल्याउनु भएका दुइटा फोटा हेरेको थिएँ। कहिल्यै कतै नदेखेको र नितान्त आफ्नो मान्छेको फोटो। दुइटामध्ये एउटामा म अल्झिएँ, बाँधिए। त्यो फोटो आफ्नै फोटोजस्तो लाग्यो। कस्तो अचम्मको अनुभूति। निकैबेर हेरेँ। हेरिरहूँजस्तो लाग्ने। मनमा त लागेको थियो, फोटो छातीमा टाँसेर सुतूँ। मीठो कल्पना गरूँ। तर के गर्नु जिस्क्याएर प्रेमको पहिलो टुसो भाँच्‍न तयार मानिसहरूको हुलदेखि डर लाग्यो। मैले तिम्रो फोटो आँखाबाट भित्र छिराएर हृदयमा राखेँ। मनमा लाग्यो उडेर तिमी भएठाउँमा पुगौँ। मेरो मनले मलाई तिमी मेरी होइनौ भन्ने कल्पनै गर्न दिएन। विचित्रको हुँदो रहेछ यो मन पनि। यसअघि त यस्तो कहिल्यै भएको थिएन। अर्को फोटो कसको थियो, कता गयो केही चाल पाइनँ। हृदयमा तिमी बस्यौ। त्यो मीठो अनुभूति अलौकिक बन्यो। एउटा मान्छेको जुनी त के करोडौँ जुनीसम्म बाँच्‍ने अनुभूति।

कहिले भेटौँ, कहिले देखौँ लागेको लाग्यै भयो। तर कसैलाई भन्न भने सकिनँ। भन्दा उही त हो जिस्क्याउनेहरूको हुल। केवल भनेँ ईश्वरलाई। ईश्वरले सुन्नुभयो मेरो प्रार्थना र जुराइदिनुभयो फागुन २८, २०४९ को दिन। दुई साथी र एक दाजु लिएर पुगेँ इनरुवा। घरभित्र पसेर सोफामा बसिरहँदा अनौठा कल्पनाहरूले मन हुँडल्न थाले। के म यस घरमा आइरहन पाउँछु कि पाउँदिन। यदि उनले हुन्न भनिन् भने के होला ? म त प्रेमिल अनुभूतिले सराबोर भएर डुबिसकेको छु। कतै आघात पो लाग्ने हो कि ? तर फेरि ईश्वरको लीलामा भरोसा लाग्यो। मनमनै प्रार्थना गरेँ, अनुरोध गरेँ।

केही क्षणपछि सर्बतको ट्रे लिएर तिमी कोठामा छिऱ्यौ। मैले फोटोमा देखेर हृदयमा राखेकी तिमी। तिमीलाई मैले देखेँ। तिमीलाई हेरेँ। तिमीले लगाएको त्यो कालो पोसाकले तिमीलाई बिछट्ट सुहाएको थियो। मनले अनगिन्ती प्रेमका सन्देशहरू तिमीतिर पठायो। अनि फेरि लाग्यो तिमीले ती सबै सन्देशहरू ग्रहण गऱ्यौँ। मेरो प्रेमलाई एकै शब्द पनि नबोली ग्रहण गऱ्यौ।

अनि चैत महिनाको कुनै दिन हामी आमुन्ने-सामुन्ने बस्यौँ इटहरीको माओली घरमा। केके बोल्यौँ केही थाहा भएन। मैले त कति सिकाएको बोले हुँला, कति नचाहिँदो बोले हुँला, आफूलाई राम्रो देखाइटोपल्न आदर्शका कुरा छाँटे हुँला। तर सत्ते मैले भन्न खोजेको चाहिँ प्रेमकै कुरा थियो। तिम्रो फोटो हेरेदेखिको यो धड्किइरहेको हृदयले तिम्रो हृदयलाई सन्देश दिन खोजीरहेको थियो। हाम्रो यो भेट कहिल्यै नटुङ्गियोस् जस्तो लागेको थियो। यताउतिका बोल्ने कुरा सकेर मैले तिमीसँग हृदयको संवाद गरेँ। तिम्रो हृदयको सन्देश पनि त पाएँ। मुखले स्पष्ट शब्द नबोली हामीले गरेको त्यो प्रथम भेट, हृदयसंवाद हाम्रो जीवनको अमूल्य निधि थियो र छ। खुसीले हृदय फुत्त बाहिर निस्केलाझैँ अनुभव गरेँ। तिमीलाई पनि त ठ्याक्कै त्यस्तै भैरहेको थियो, हैन ?

अनि वैशाख ७ गते हामी फूलमालामा बस्यौँ। त्यही कोठामा जहाँ हामीले हृदयसंवाद गरेका थियौँ। तिमी मेरो छेउको सोफामा बस्यौ। मैले आफूलाई विस्मृत अनुभव गरेँ। यति नजिक तिमी पहिलो पटक आएकी थियौ। हरियो साडीमा तिमी सजिएकी थियौ। तिम्रो सुन्दरता र आभामा मैले अद्भुत प्रेम अनुभव गरेँ। माला लगाउने, टीका लगाउने, आशीर्वाद दिने काम भए। तिमीलाई अगाडि राखेर तिम्रा हात समातेर तिम्रा आँखामा मात्र हेरिरहूँ जस्तो लागेको थियो। साथीभाइले फोटा खिच्‍न थाले। सबै आफन्तहरू जम्मा भएर फोटा खिचिए। मेरो मनमा चाहिँ तिमीसँग बाहिर गएर फूलको बोटछेउ उभिएर दुईचारवटा फोटा खिच्‍ने मन थियो। तर मेरा मुखबाट ती मेरा इच्छा बाहिर निस्केनन्। जीवनको त्यो अमूल्य क्षणलाई चित्रमा उतार्ने एउटा अधुरो इच्छा भने, कतै रहने नै भयो।

हाम्रो बिहेको लगन वैशाख २७ जुराएर हाम्रो टोली इलाम फर्कियो। बिहेको तयारी गर्नुपर्ने यावत् काम थिए। सबैमा उत्साह थियो। वैशाख ७ देखि २७ सम्मका बीस दिन समय मैले बीस वर्ष जसरी बिताएँ। हृदयमा तिम्रो अथाह प्रेम बोकी हिँडे, तर आँखाले तिम्रो उपस्थिति खोजिरह्यो। कल्पनाबाट एक निमेषका लागि पनि तिमी ओझेल भइनौ। ब्यूँझदा आँखा तिमीलाई खोजिरहन्थे, आगामी दिनका कल्पनामा मन डुब्थ्यो र सपनामा पनि तिम्रै कामना हुन्थ्यो। यी बीस दिनको  बेचैनी, छटपट र प्रतीक्षा म यी सीमित शब्दहरूमा भन्नै सक्दिनँ। शब्द कतै लठारिन्छन्। मिलेर बस्तै बस्तैनन्।

आखिर वैशाख २७ पनि आयो। हाम्रो लगनगाँठो कसिने भयो। हाम्रो मिलन ईश्वरको देन थियो। यही दिन थियो ईश्वरको आशीर्वाद पाउने दिन र एउटा नयाँ जीवन सुरु गर्ने दिन। अनन्त युगसम्म हाम्रो यात्रा सुरु हुने दिन। स्वयम्वरमा वरमाला र वधूमाला लगाउँदा हाम्रा आँखाहरू एकाकार भए। मलाई लाग्यो यो समय यहीँ जमोस्। अनन्तकालसम्म यसरी नै हेरिरहन पाऊँ। तिम्रा आँखाबाट मेरा आँखामा पसेको प्रेमको धारा म जन्मजन्मान्तर बिर्सन सक्दिनँ। म अनौठो ‘ट्रान्स’मा प्रवेश गरेको थिएँ। तिमीतिर हेर्थेँ, तिमीलाई पनि त्यस्तै देख्थेँ। लाग्थ्यो यो भन्दा सुखको क्षण के हुन सक्ला र ?

कन्यादानका बेला तिम्रो हातहरू मेरा हातमाथि आए। अहो, योजस्तो सुखद अनुभूति। हामीले स्पर्शबाटै कति हो कति संवाद गऱ्यौँ। तिम्रा मनका कुरा मैले बुझेँ, मेरा मनका कुरा तिमीले बुझ्यौ। फेरि लाग्न थाल्यो यो समय यहीँ रोकियोस्। यो सुखानुभूतिको अन्त्य कहिल्यै नहोस्। बिहेका कर्म सकेपछि तिमी कतै भित्र लगियौ। मलाई लाग्यो, केही छैन, यत्रा वर्ष(ती दिन मलाई साँच्चिकै वर्षझैँ लागेका थिए)त पर्खिएँ, अब दुईचार घण्टाको त के कुरा। मलाई उस्ताद विम्मिल्लाह खानले मीठो सहनाई बजाएर सो समय कटाउन सजिलो बनाइदिए। उनको दिव्य शास्त्रीय सहनाई वादन सुन्दै म फेरि सुखद ‘ट्रान्स’मा प्रवेश गरेँ।

हामी इलाम पुग्यौँ। लाग्यो संसारकै सबैभन्दा भाग्यमानी मानिस हुँ म। तिमी हामी सँगै थियौँ र हामी सामु थियो हाम्रो भविष्यको जीवन। सुखद जीवन। अत्यन्त सुखद र भाग्यमानी जीवन। आज आएर बिहे गरेको २६ वर्ष भैसक्दा पनि त्यो प्रेममा, त्यो भावनामा, त्यो अनुभूतिमा किञ्चित् कमी आएको छैन।

आज यति भन्छु ह्याप्पी एनिभर्सरी माइ डियर !

[email protected]