कविता : मासिक स्रावको मिथक - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कविता : मासिक स्रावको मिथक



– सीमा आभास

सबैभन्दा पहिला स्त्रीहरूकै उत्पति भएको हो।

रजबाट बनेको हो ब्रम्हाण्ड।

आफ्नै मासिकस्रावबाट जन्मिएका स्त्रीहरूले
जहाँजहाँ टेके
त्यहाँत्यहाँबाट सुरु भयो जीवनलीला।

उनीहरूले विश्राम लिएको ठाउँमा छ्यापछ्याप बसेका
रगतका छापबाट चम्किएको तेजिलो रापले
न्यानो भएको हो पृथ्वी।

घामलाई रजस्राव भएपछि
बिहानै हिमाललाई गरिदिन्छ रजाभिषेक
साँझको समुद्रलाई डुबाउँछ रजक्रीडामा।

आकाशलाई स्राव भएपछि पहिरिन्छ इन्द्रेणीमाला।

धरतीको रज हो जूनबाट खस्ने शीतको बुँद।

पहिलोपटक धरतीको योनिस्रावबाट
उत्पति भएको हो पानी
स्रावको फोहोराबाट निस्किएका हुन आवाज
तीनै आवाजहरूमा फैलिएका हुन सृष्टिधुन।

रजस्राव धरतीका कापकापमा पुगेपछि
बग्‍न थालेका हुन नदीनाला।

रजोगुणी नदीहरू बग्दैबग्दै जरामा पुगेपछि
फूलहरूले रजश्वलाकै रङमा थालेका हुन फुल्न
फलहरूले रजधर्मकै रङमा सिकेका हुन पाक्न।
शक्तिस्वरूप
चढाउन थालियो तिनै फूल
पहिऱ्याउन थालियो विजयोत्सवको गलामा।

मासिकस्रावको स्त्रीखुन जहाँजहाँ चुहियो
त्यहाँत्यहाँ रङ्गियो माटो।

 

त्यहि माटाको अविरलाई
शिरमा लगाइदिएर ईश्वरलाई दिन थालियो आशीर्वाद
पवित्र पार्न माटाले लिप्‍न थालियो घर–मन्दिरका द्वार।

रजोवतीलाई देखेपछि नै सिकेका हुन्
बली चढाएको खुनले नुहाइदिएर देवदेवीलाई शक्तिशाली बनाउन
देशलाई सहिदको रगतले नुहाइदिएर महान कहलाउन।

मासिकधर्मले जगाएको स्त्रीत्व सिउरिएर

घुमिरहेको छ रक्तबीजबाट कोरिएको सृष्टिचक्र।

रजोधर्मले नै पवित्र पारिरहेको छ धरतीको हृदय।

-0-