उषा शेरचनका चार मुक्तक - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

उषा शेरचनका चार मुक्तक



प्रेमिल कामना
उल्लासमय भइरहोस् प्रेम, सर्तमय कहिल्यै नहोस्
उत्सवमय लागिरहोस् प्रेम, ग्लानीमय कहिल्यै नहोस्
प्रेममै अडिएको यो सुन्दर संसारमा सधैँसधैँ नै
प्रेममय रहिरहोस् प्रेम, घृणामय कहिल्यै नहोस् ।

कामना
तारे भिरमा लहरो भएर बेर्‍हिरहन सकूँ सधैँ
अँधेरी रातमा जून भएर उदाइरहन सकूँ सधैँ
तिम्रो जीवनको प्रत्येक अप्ठ्यारा र असजिला
मोडमा माहुरी भएर मधुसञ्चयन गरिरहन सकूँ सधैँ ।

भर
सकिजाने लामको के नै भर हुन्छ र हजुर ?
बद्लि जाने यामको के नै भर हुन्छ र हजुर ?
ढल्दो साँझमा अस्ताचलतर्फ लम्किरहेको
डुबी जाने घामको के नै भर हुन्छ र हुजुर ?

अदृश्य घाउ
यो मन ख‌ै केले हो? यत्तिकै पनि जलिरहन्छ
आगो कतै देखिँदैन तर धुँवा भने उठिरहन्छ
जतिसुकै बाँध बाँधे पनि आँसुको मूल फुटेर
आँखाबाट अनन्त पीडाको नदी बगिरहन्छ !