उर्लियो गुल्मीमा जनसागर, बिरोधका कार्यक्रम यथावत - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

उर्लियो गुल्मीमा जनसागर, बिरोधका कार्यक्रम यथावत



 

हिमाल पोष्ट / गुल्मी ,मङ्सिर २७ । जिल्लाको सदरमुकाम तम्घासमा वृहद विरोध सभाको आयोजना गरिएको छ ।

सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरि प्रदेश नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा अनिश्चितकालीन गुल्मी बन्दको तेह्रौ दिनको अवशरमा सोमवार वृहद विरोध सभाको आयोजना गरिएको हो ।

जिल्ला बन्दको आव्हान गरेर गत तेह्र दिनदेखि सडकमा प्रर्दशन जारी राखेको संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा आयोजित उक्त विरोध सभामा सहभागि हुनका लागि गाउँगाउँवाट हजारौ मानिसहरु सदरमुकाम तम्घास आएका थिए ।

विरोध प्रर्दशनको क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी, नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलीटव्यूरो सदश्य चन्द्र बहादुर खड्का, सभाषद् कमला विश्वकर्मा लगायतका नेताहरुको अगुवाईमा ‘प्रदेश नम्वर ५ टुक्राउन पाईदैन, संसोधन प्रस्ताव फिर्ता गर, देश टुक्राउने होसियार, जस्ता नाराहरु लगाउँदै हजारौंको संख्यामा रहेको जुलुश तम्घास बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्वोधन गर्दै केन्द्रिय नेताहरुले सदियौंदेखि भाइचाराको सम्वन्ध कायम गरेर बसेका पाँच नम्वर प्रदेशवासीलाई टुक्राउन सरकारले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी राख्न निर्देशन दिएका छन् ।

नेताहरुले यदि सरकारले प्रदेश टुक्राउने षडयन्त्र गरेमा त्यो सरकारकै लागि अभिसाप हुने चेतावनि समेत दिएका छन् ।२०६२-०६३ को जनआन्दोलनपछि पहिलो पटक सदरमुकाममा उर्लीएको आन्दोलनको जनलहरले चिदीचौर मैदान खचाखच भरिएको थियो ।

कार्यक्रलाई थप रोचक बनाउनका लागि लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले प्रदेश टुक्राउनेहरुका विरुद्ध खवरदारी गर्दै सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना लगायत यातायात सेवा ठप्प छन् । आन्दोलनकर्ताहरुले जिल्लामा दिनहु नारावाजी गर्दै बिरोध प्रर्दशन जारी राखेका छन् ।

विरोध सभामा सहभागि सर्वसाधारणहरुले नेताहरुलाई आफुहरु जस्तोसुकै संघर्षमा उत्रन समेत तयार रहेको तर प्रदेश टुक्रिएको हेर्न नसक्ने भन्दै नेताहरुलाई आन्दोलनका खुट्टा नकमाउन समेत आग्रह गरेका थिए । लामो समयसम्मको बन्दका कारण जिल्लाको जनजीवन भने दिनहुँ थप कष्टकर बन्दै गईरहेको छ।