बर्दगोरियामा स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

बर्दगोरियामा स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने



गोविन्द बीसी /बौनिया ,कैैैलाली । 
कैलालीको बर्दगोरियामा सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।
बर्दगोरिया गाउँपालिका स्रोतकेन्द्रको आयोजनामा खेलकुद प्रतियोगिता संचालन हुन लागेको हो ।
सहीद दिवसका अवसरमा आउँदो माघ १६ गतेदेखि खेलकुद प्रतियोगिता संचालन हुने स्रोतकेन्द्र प्रअ भुमीप्रकाश बमले जानकारी दिए ।

खेलकुद प्रतियोगिताको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बलिराम चौधरीबाट उद्घाटन हुने आयोजकले जनाएको छ । गाउँपालिका अन्तर्गत प्राथमिक, आधारभूत र माध्यमिक गरि १७ वटा सामुदायिक विद्यालय छन् । खेलकुद प्रतियोगिता स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी माविको खेलमैदानमा संचालन हुनेछ ।

विद्यालय स्तरमा विद्यार्थीको अन्तरनिहित क्षमताको बिकाससंगै खेलकुद बिकासको लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद समिति संयोजक समेत रहेका स्रोतकेन्द्र प्रअ भूमिप्रकाश बमले जानकारी दिए ।
अन्तर सामुदायिक बिद्यालय स्तरमा संचालित हुने प्रतियोगितामा सरकारी विद्यालयको मात्रै सहभागिता रहनेछ भने उक्त प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । खेलकुदमा सहभागी हुने बिद्यार्थी र सहयोगी शिक्षकको विवरण माघ १४ गतेसम्म पठाइसक्न स्रोतकेन्द्र अन्तर्गत रहेका सबै विद्यालयलाई यसअघि नै परिपत्र गरि सकिएको छ ।

प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ११ विद्याका खेलकुद प्रतियोगिता रहने आयोजकले जनाएको छ ।
जसअन्तर्गत हिसाब दौड, १ सय मिटर , २ सय मिटर, ४ सय मिटर, १ हजार मिटर दुरीका दौड हुनेछन् । यस्तै, म्युजिकल चेयर, हाइजम्प, लङ्गजम्प, सटपुट, कपर्दी र भलिबल प्रतियोगिता हुने भएका छन् ।

प्रतियोगिताबाट बालबालिकाको सिर्जनात्मक कला र क्षमताको बिकाससंगै भविस्यमा विद्यालय स्तरदेखि नै राम्रो क्षमतावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने कार्यक्रमको प्रायोजक गाउँपालिका कार्यालय नै रहेको छ ।

प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ फरकफरक विद्यामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीले कदर प्रमाणपत्र पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगिता संचालन गर्नका लागि १ लाख ५० हजार हाराहारी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।