काँग्रेस पार्टी र सांसद पद त्याग्न तयार छु :- चन्द्र भण्डारी - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

काँग्रेस पार्टी र सांसद पद त्याग्न तयार छु :- चन्द्र भण्डारी



काठमाडौं, १४ मंसिर ।
नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पहाड, हिमाल र तराई अलग गराउनेगरी आएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए ।

यदि कांग्रेस पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा लागेर संसदमा संशोधन प्रस्ताव दर्ता गराए पार्टी परित्याग गर्ने चेतावनी पनि उनले दिए । र, संशोधन प्रस्ताव संसदबाट पास भए सांसद पद परित्याग गरेर जनतासँगै आन्दोलनमा जाने उनको प्रतिबद्धता छ ।

यदि यो प्रस्ताव यही रुपमा पास हुन्छ भने तपाई आफ्नो पार्टी र सांसद पद त्याग्न तयार हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भण्डारीले भने- ‘मेरो देश, मेरो लोकतन्त्र र हाम्रा जनता भन्दा म ठूलो होइन । मेरो पद ठूलो होइन । मलाई यो आवश्यकता नै छैन । म सधैं मेरो देश, जनता र प्रजातन्त्रका निम्ति एक्लै परेपनि उभिन तयार छु । म लड्न तयार छु मलाई केही कुराले छुँदैन ।’

उनले अगाडि भने– ‘ज्ञानेन्द्र शाहले कम्प्रमाइज गरेका भए अझै १५–२० वर्ष टिक्थे तर राजदण्ड सर्लक छाडिदिए । तर, हाम्रो नेतृत्व ४–६ महिना सत्तामा जान विभिन्न ठाउँमा लम्पसार पर्छ ।’
सरकारले मधेसका माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिहँदा प्रमुख प्रतिपक्षी एमालेसहित सत्तारुढ दलभित्रैबाट विरोध भइरहेको छ ।