धार्मिक महायज्ञको सामाजिक विकास मन्त्री सोडारीद्बारा उद्घाटन हुने - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

धार्मिक महायज्ञको सामाजिक विकास मन्त्री सोडारीद्बारा उद्घाटन हुने



गोविन्द बीसी / बौनिया ।
कैलालीको बर्दगोरिया गाउँपालिका -३ खैरेनीमा रहेको जगदम्बिके भगवती माविद्वारा आयोजित धार्मिक महायज्ञको सामाजिक बिकास मन्त्री दीर्घबहादुर सोडारीबाट उद्घाटन हुने भएको छ ।

एक भव्य कार्यक्रमका बीच आउदो असोज २४ गते सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री सोडारीबाट धार्मिक महायज्ञको उद्घाटन हुन लागेको सचिवालयका महासचिव नेत्रबहादुर खड्काले बताउनुभयो ।

विद्यालयले २०६८ सालदेखि मावि तहको अनुमति प्राप्त गरि शिक्षा प्रदान गर्दै आइरहेको छ । बिद्यालयको स्तरोन्नती गरि बालबालिकाको उच्च शिक्षा अध्ययन गर्ने चाहना पूरा गर्ने लक्ष्य रहेको खड्काले बताउनुभयो । उहाले भन्नुभयो-“विद्यालयको मावि तहको कक्षा ११ र १२ संचालनको लागि शैक्षिक, आर्थिक, भौतिक पूर्वाधार तयार गर्न महायज्ञ आयोजना गरिएको हो ” । चारैतिर नदीले घेरिएको यो ग्रामीण बस्तीमा उच्च शिक्षाको पहुच पुर्याउन पहल भएको हुदा सबैको साथ रहनेछ भन्नेमा म पूर्ण आशावादी रहेको छु ।” विद्यालयको सेवाक्षेत्रमा ग्रामीण बिपन्न समुदाय, दलित र जनजाति विद्यार्थी बाहुल्यता रहेको छ ।

यस्तै, विद्यालयको सर्वपक्षीय बिकासका लागि हुन लागेको धार्मिक महायज्ञमा उपस्थित भइ लाभ लिन अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, शिक्षक, राजनीतिकर्मी, संचारकर्मी, विद्यार्थी लगायत सबैमा मूल कमिटी संयोजक मनऋषि आचार्यले आग्रह गर्नुभयो ।

कार्यक्रममा आगन्तुक अतिथिको स्वागतका लागि बौनिया बजार देखि विद्यालयसम्म ३ वटा स्वागतद्वार निर्माण गरिएको छ । महायज्ञ स्थलमा यज्ञमण्डप, धनधान्यान्चल, तुलादान कक्ष, होम कुण्ड, र मञ्च निर्माण गरिएको मञ्चनिर्माण संयोजक जगतबहादुर टमट्टाले बताउनुभयो ।

महायज्ञको तयारीका लागि शनिबार सन्त निरंकारी मण्डल शाखा बौनियाले महायज्ञ संचालन स्थलमा सरसफाइ समेत गरेको छ । सेवादल शिक्षक सुरतबहादुर बिष्ट सहित ३० जनाको टोलीले सरसफाइ गरेको हो । सामाजिक सेवामा समर्पित सन्त निरंकारी मण्डलले हरेक स्थानीय कार्यक्रममा सेवा गर्दै आइरहेको छ । सरसफाइ कार्यक्रमको मण्डलका प्रमुख बिजयसिंह कुवर, सन्त निरंकारी मण्डल ज्ञान प्रचारक देवराज रिमालले अनुगमन समेत गर्नुभयो ।

महायज्ञमा अन्तर्राष्ट्रिय कथावाचक पण्डित श्री किशोरशरण महाराजजीको मुखारबिन्दु विवेचनात्मक संगीतमय भजन, प्रवचन हुने बताइएको छ । यसैगरी, कार्यक्रममा सुसंस्कार समाज निर्माण अभियान नेपालका अध्यक्ष एवं राष्ट्रिय भजनगायक शिशिर साधक, कार्यक्रम व्यवस्थापक गोपाल सम्राट लगायतको टोलीबाट संगीतमय भजन कृतन गरिनेछ ।

महायज्ञमा तुलादान, भूमिदान, अन्नदान, गौदान,पृतदान लगायत दान गर्न सकिने विद्यालयका प्रअ समेत रहेका खड्काले बताउनुभयो । बिहानको समयमा योगशिविर, पुरुषोत्तम महात्म्य पूजन, दैनिक रुद्री पाठपरायण, दार्शनिक प्रवचन, बाल सुसंस्कार, बृहत भागवत चर्चा, विभिन्न भाषा-भाषीका भजन कृतन हुनेछ ।

महायज्ञबाट करिब २५ लाख बढी दान रकम संकलन हुने अपेक्षा गरिएको छ भने, ४ लाख ५० हजार हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । शनिबारसम्म करिब ३ सय ८० भन्दा बढीले शान्ति कलश लिएको सह-सचिव शिवराज गौतमले बताउनुभयो ।