साउनदेखि रुपन्देहीको सीमावर्ती क्षेत्रमा मदिरा बिक्रीमा रोक - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

साउनदेखि रुपन्देहीको सीमावर्ती क्षेत्रमा मदिरा बिक्रीमा रोक



भैरहवा– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नेपाल–भारतको सीमासँग जोडिएका क्षेत्रहरुमा खुलारुपमा मदिराको बिक्री वितरण गर्न रोक लगाउने भएको छ।

प्रशासन कार्यालयले आगामी आर्थिक वर्ष २०७५/०७६ सुरुवातदेखि सीमानाका बेलहिया लगायत क्षेत्रहरुमा मदिराको बिक्री–वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सीमामा हुने अपराध र मदिराको नियमन गर्न सीमावर्ती क्षेत्रहरुमा मदिरा बिक्री–वितरण गर्न रोक लगाउने तयारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताए।

उनले सीमादेखि ३ किलोमिटरको क्षेत्रमा मदिराको बिक्री–वितरण गर्न नपाइने गरी आवश्यक नियम बनाउन लागिएको बताए। कसैले नियमको उल्लंघन गरेमा तत्कालै पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए।

‘यस विषयमा हामी कठोर रुपमा उत्रिँदै छौं’, प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘पक्राउ गरेपछि उन्मुक्ति दिलाउन आउने कुनै सिफारिस समेत काम लाग्ने छैन।’

उनले जिल्लाको सीमाक्षेत्रको ३ किलोमिटरभित्र मदिरा व्यवसाय सञ्चालनका लागि अनुमति नदिन स्थानीय तहलाई निर्देशन समेत दिए।

प्रमुख जिल्ला अधिकारी रानाले सीमामा मदिराको बिक्री–वितरणमा रोक लगाउने नीति लागू गर्न स्थानीय तहलाई समेत पत्राचार गर्ने बताए। उनले असार मसान्तपछि दर्ताबिना मदिरा लगायत अन्य व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गरिने पनि बताए।

सीमाक्षेत्रमा रहेका अधिकांश होटल तथा टहराले बिनादर्ता मदिरा बिक्री–वितरण गर्दै आएका छन्। जसका कारण सीमा क्षेत्रमा शान्ति–सुरक्षामा असर पुग्नुका साथै आपराधिक कार्य बढ्ने खतरा रहेको सुरक्षा अधिकारीहरुले बताउँदै आएका छन्।