एकै रातमा पाँच पसल चोरी - Himal Post Himal Post
  • १० कार्तिक २०८१, शनिबार
  •      Sat Oct 26 2024
Logo

एकै रातमा पाँच पसल चोरी



भैरहवा । भैरहवा क्षेत्रमा राति ५ वटा पसलमा चोरी भएको छ । जिल्ला सदरमुकाम समेत रहेको भैरहवाको लुम्बिनीरोड स्थित व्यस्त बजारमा चोरी भएको हो ।

एउटै घरका फरक फरक सटरमा मोबाइल, कस्मेटिक, सप्लायर्स र किराना व्यवसाय संचालक गर्दै आएका व्यवसायीहरुको पसलबाट लाखौंको धनमाल चोरी भएको रुपन्देही प्रहरीले जनाएको छ ।

पाँचवटा पसलबाट करिब १५ लाख बढीको नगदसहित मालसामान चोरी भएको व्यवसायीले बताएका छन् ।

यद्यपि प्रहरीले भने यकिन तथ्यांक खुलाएको छैन । लुम्बिनी रोडमा रहेका वसिम माइला मोबाइल सेन्टर, आशा कस्मेटिक एण्ड फेन्सी, न्यू सुन्दर स्टोर्स, नव अन्नपूर्ण स्टोर्स र चैतन्य सप्लायर्समा चोरी भएको हो ।

एउटै भवनमा रहेका यी पसलहरुबाट करिब २ लाख बढी नगद चोरी भएको छ भने मोबाइल, सिसी क्यामेराको हार्डिक्स, कस्मेटिक सामानलगायत चोरी भएको छ ।

प्रहरीका अनुसार यी पसलहरुको पछाडिको ढोका फोरेर चोरी भएको हो । रुपन्देहीमा पछिल्लो समय शृङ्खलाबद्ध चोरीका घटनाहरु पनि बढेका छन् ।

यसअघि पनि जिल्लाका विभिन्न ठाउँमा सुनचाँदी, मोबाइल, किराना, हार्डवेयरलगायतका पसलहरुमा चोरी भएको थियो ।

तर प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा चोरीका घटनाहरु बढ्दै गएको व्यवसायीको आरोप छ । व्यवसायीहरुले प्रहरीले शान्ति सुरक्षा दिन नसक्दा व्यस्त बजारमा दैनिकजसो चोरीका घटनाहरु बढेको भन्दै चिन्ता व्यक्त गरेको छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले कहिले व्यवसायीमाथि गोली प्रहार हुनु र कहिले चोरीका घटना हुनुले आफूहरुले सुरक्षित महसुस गर्न छाडेको बताए ।