बुटवल उपमहानगरपालिलाई लगातार उत्कृष्ट अवार्ड
बुटवल । बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो ।
यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार चारपटकसम्म सम्मान गर्दै आएको छ ।
संघले यसअघि देशभरबाट बुटवललाई सर्वोत्कृष्ट नगरका रुपमा सम्मान गरेको थियो । अहिले सात वटै प्रदेशका नगरपालिकाहरुलाई मूल्यांकनका आधारमा यसपाली सम्मान गरेको हो ।
अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो ।
त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।नगरको वातावरण, सहरी सुशासन, वित्त व्यवस्थापन, समाजिक परिचालन लगायतका विषयलाई मूल्यांकनको आधार बनाएको थियो ।
सोही आधारमा नगरपालिका संघले यसपाली सात वटै प्रदेशका नगरहरुलाई मूल्यांकन गरेको संघका कार्यकारी सचिव कलानिधि देवकोटाले जानकारी दिए ।
प्रदेश एकको झापाको दमक, प्रदेश दुईको धनुषाको गणेशमान नगरपालिका, प्रदेश तीनमा चितवनको भरतपुर उपमहानगरपालिका, प्रदेश नं. चारमा स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट नगरपालिकाका रुपमा प्रदेश स्तरबाट सम्मानित भएका छन् ।
यस्तै प्रदेश नं. छमा जुम्लाको चन्दननाथ नगरपालिका र सातमा कञ्चनपुरको भीमदत्त नगरपालिकालाई प्रदेश स्तरको उत्कृष्ट नगरपालिकाका रुपमा सम्मान गरिएको थियो ।
नेपाल नगरपालिका संघको राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । सबै प्रदेशहरुमा समन्वय समितिहरु गठन गर्दै आउँदो बैशाखमा राष्ट्रिय भेलाको तयारी भइरहेको संघले जनाएको छ । यसअघि तुलसीपुरमा पाँच नम्बर प्रदेश नगरपालिका संघको भेला भएको थियो ।
भेलाले बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो ।
प्रदेशभरीका नगरपालिका प्रमुख र उपप्रमुखको भेलाद्धारा गठित समितिको सह संयोजकमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरेको थियो ।