स्थानीय तहले लिएको परीक्षा मर्यादित - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

स्थानीय तहले लिएको परीक्षा मर्यादित



सिता डोटेल / रामपुर (पाल्पा)। आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षा रामपुर नगपालिकाले व्यबस्थित रूपमा सञ्चालन गरिरहेको छ ।

यसअघि जिल्ला शिक्षा कार्यालयले परीक्षा लिँदै आएकोमा राज्यको संरचना अनुसार शिक्षा ऐन २०७४ को अधिकार प्र्रयोग गरी स्थानीय निकायले नै परीक्षा सञ्चालन गरेको हो । बुधबार गंगा मावि एक्लेटार, जनकल्याण मावि रामटार, भानुुभक्त मावि बर्दले परीक्षा केन्द्रमा परीक्षा हेरेका रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै केन्द्रमा अनुुशासित, शान्त र मर्यादित रूपमा परीक्षा चलिरहेको बताए । ‘‘हामी टिम बनेर सबै परीक्षा केन्द्रको अनुुगमन गरेका छौ’’ थापाले भने ।

नगरपालिका प्रमुख थापा, उपप्रमुुख बिष्णुुदेवी घिमिरे आचार्य, प्रशासकीय अधिकृत यामेन्द्र उपाध्याय, शिक्षा शाखा प्रमुुख रमाकान्त अर्याल, योजना विज्ञ कपिल खाँण, लेखा सहित १२ सदस्यीय मोवाइल टिम अनुुगमनमा खटिएको छ । परीक्षामा सहभागी बिद्यालयका कक्षा शिक्षकलाई पनि दैनिक फरक–फरक परीक्षा केन्द्रमा अनुुगमनमा खटाइएको थापाले जानकारी दिए ।
गत मंगलबारदेखि शुरु भएको नगरपालिकाभित्रका २५ आधारभूत तहको विद्यालयका ९ सय १९ जना परीक्षार्थी आ–आफ्नै विद्यालयमा नै परीक्षामा सहभागी भएका छन् । २० सामुदायिक विद्यालयका ७ सय ६९ जना र ५ संस्थागत विद्यालयका १ सय ५० विद्यार्थी परीक्षामा सहभागी रहेको नगर शिक्षा शाखा प्रमुख रमाकान्त अर्यालले बताए ।

प्रत्येक विद्यालयबाट १÷१ जना शिक्षक गरी २५ शिक्षकलाई आफ्नो भन्दा भिन्न विद्यालयमा अनुुगमनमा खटाइएको छ । उनीहरूले अनिवार्य विषयका परीक्षा चल्ने ५ दिनसम्म परीक्षा केन्द्रमा पुुगी अनुुगमन गर्नेछन् । पहिलेको जस्तै विद्यार्थीले आफ्नै विद्यालय र शिक्षकका बीच परीक्षा दिएकाले डर त्रासजस्ता कुनै समस्या परेको छैन, अर्यालले भने ।

स्थानीय निकायले नै परीक्षा लिएपछि निजी र सामुदायिक बिद्यालयबाट तुलनात्मक नतिजा निकालेर पृष्ठपोषण दिन सहज हुनेछ । एसईई परीक्षामा मात्र संस्थागत र सामुदायिक विद्यालयको तुलना गरिने प्रचलनका बीच अब आधारभूत तहको अन्तिम परीक्षामा तुलनात्मक अध्ययन गरी थप पृष्ठपोषणका साथ आगामी परीक्षामा नतिजा सुधार गर्न मद्दत पुुग्ने आशा लिइएको छ ।

नवदुुर्गा माविका प्रद्यानाध्यापक कृष्णप्रसाद पाण्डेले नगरपालिकाको शिक्षा शाखामा विषयविज्ञको टिम राखेर नगरपालिकाले नै प्रश्नपत्र बनाएर परीक्षा लिनुु निकै उपलब्धी भएको बताए । नगरपालिकाले नयाँ संरचनामा परीक्षालाई व्यवस्थित गराएजस्तै शिक्षाका हरेक क्षेत्रमा रहेका समस्या समाधानमा चासो दिनुुपर्छ उनले भने ।

फागुन २९ गते मंगलबारदेखि चलेको परीक्षा आगामी चैत ६ गते सकिनेछ । यस बर्ष स्थानीय निकायले पहिलो पटक परीक्षा लिएकाले पनि सिक्दै र अनुुभब बटुुल्दै आगामी बर्ष अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने यस परीक्षाले ज्ञान बटुुल्नेछ ।