लघुकथा – सन्तान सुख
– राजन पनेरू
मध्याह्नको समय सुर्यले आफ्नो तेज देखाइरहेको थियो । गर्मी उत्पात बढेको थियो, आकाशमा बादलको सानो चिनो सम्म पनि थिएन । हिंडीरहेको बटुवा शितल छहारी खोज्दै चौतरीतिर उक्लियो । खलखल बगिरहेको पसिना कोप्रियको चोर औंलाले सोर्दै, ढुङ्गामा उभिएर पल्याक्क – पुलुक्क यताउता हेर्यो ।
सेतै कपाल फुलेकी बृद्ध महिला चौतारीमा बसेर कपासको बत्ति काट्दै थिईन । बटुवा बृद्धको नजिकै गएर ढुङ्गामा टुसुक्क बस्यो । बृद्धले बटुवातिर पुलुक्क हेरिन ।
–‘ओहो ! कस्तो टाउको फुट्ला जस्तो घाम !’ बटुवा बर्बरायो । —‘यस्तो घाम छ बाबु ! छाता बोकेर हिड्नु पर्छ नि !’ अपरिचित ब्यक्तिप्रति बृद्धले मायाँ दर्साइन । उनीहरू बिच कुराकानी हुन थाल्यो ।
समय काट्ने मेसो, बटुवाले सोध्यो – ‘आमा ! किन यती धेरै बत्ति काड्नु भएको ?’
मुजै मुजा परेको चेहरामा थोरै हाँसो ल्याई अझै मुझा पार्दै बृद्धले भनिन् – ‘लाख बत्ती बालेर छोराछोरीको ग्रह शान्ती गर्नु छ बाबु !’
बटुवाले कुरा तन्काउन खोज्यो – हजुरका छोराछोरी कति छन आमा ?
कागजमाथी राखेको खरानीमा औंला चोप्दै कपास बटार्दै बृद्धले भनिन – चार भाई छोरा, एउटी छोरी छन ।’
बटुवाले नालीबेली जान्न खोज्यो – ‘छोरा छोरी कता छन ? के के गर्छन नि आमा ?
बृद्धले बेलीबिस्तार लगाइन – ‘जेठो छोरो पिएडी होकी केजाती हो गर्न अम्रीका गाको छ । माहिलो चाहीं इन्जिनिएर भाछ काठमाण्डुमा । छोरी ज्वाईसंग अष्टिलिया गई छे । साहिलो छोरोले पढेन बाबु घरमै छ । कान्छो चाहीं हाकीम भाछ अरे काठमाण्डु तिर !’
बटुवाले बृद्धको मन खोतल्न खोज्यो – ‘त्यतिका छोराछोरीमा साहिलो छोराले मात्र नपढेर दुःख पाएको देख्दा नमज्जा लाग्छ होला है आमा ?’
बृद्धले भनिन – ‘आफ्नै माटोमा गरी खाछ केको दुःख ! कहाँ नमज्जा लाग्नु बाबु साहिलो छोराले नपढेर झन धेरै खुशी लाग्छ ।’
अनपेक्षीत उत्तरले बटुवा अचम्ममा पर्यो र सोध्यो -‘किन र आमा ?’
बृद्धले भित्री रहस्य खोलिन – ‘अरू छोराछोरी धेरै पढे शहर पसे, उतै-उतै रमाए, उतै घरजम गरेर बसे, मलाई तिनले बिर्सीए बाबु ! धन्न साहिलोले पढेन गाउंमै बस्यो । साहिलोले मलाई पालेको छ । यसैले धेरै मायाँ गर्छ, यसले पनि पढेको भए त ! यो बुढेसकालमा म एक्लै हुने थिएं ।’