रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै बच्चा  जन्मिय पछि  - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै बच्चा  जन्मिय पछि 



काठमाडौं । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।

रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो । बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन् – यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो ।

प्राक्टरले भनिन्, ‘जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’

प्राक्टरले बच्चालाई लाइभ शोमा जन्म दिनु आफ्नो नियमित कामकै बिस्तारित रुप भएको बताएकी छन् । उनले भनिन्, ‘यो मेरो कामकै बिस्तार हो, जो म हरेक दिन गर्दछु । म आफ्नो जिन्दगीको हरेक पल आफ्ना स्रोताहरुसँग शेयर गर्दछु ।’

प्राक्टरले बच्चाको नाम जेमसन राखेकी छन् । यो नाम पनि स्रोताहरुबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम ‘जेमसन’ राखियो ।

रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय मिडियासँग भनेका छन्, ‘दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा लग्यौं । जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो ।’

प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छिन् । किनकी उनी केही दिनका लागि सुत्केरी विदामा छिन् ।