मैतीदेवीमा बस दुर्घटना, १७ जना घाइते
काठमाडौं । राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
आज बिहान पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो ।
विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ ।
विद्युत प्राधिकरणका कर्मचारी आएर विधुत्त ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको हो ।
दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । वीर अस्पतालमा एक गम्भीर र ८ सामान्य घाइतेलाई उपचारका लागि पठाइएको छ भने नर्भिक अस्पतालमा तीन गम्भीर र पाँच सामान्य घाइतेलाई पठाइएको छ ।